मजदुरका माग पूरा गरेपछि सुरु भयो मस्र्याङ्दी ‘ए’को निर्माण कार्य

काठमाण्डु टुडे २०७१ फागुन ३ गते १२:५५ मा प्रकाशित

upper_marshyangdiलमजुङ, ३ फागुन– मजदुर आन्दोलनका कारण एक सातादेखि बन्द भएको ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी–ए जलविद्युत आयोजनाको निर्माणकार्य सुचारु भएको छ ।

आयोजनामा कार्यरत मजदुरको माग व्यवस्थापन पक्षले पूरा गर्ने प्रतिवद्धता गरेपछि आइतबारदेखि निर्माणकार्य शुरु भएको हो । जिल्ला प्रशासन कार्यालयको समन्वयमा शनिबार बेसीशहरमा भएको सरोकारवालाको बैठकले मजदुरको माग सम्बोधन गर्दै आयोजना खुलाउन आयोजनालाई सुझाव दिएको थियो । उक्त सुझाव अनुसार निर्माणपक्ष, सरोकार समिति र आन्दोलनत मजदुरहरुको संगठन मजदुर युनियनबीच भएको छलफलले मजदुरले काम छाड्ने समयमा एक वर्ष काम गरेका मजदुरलाई २० दिन बराबरको थप सुविधा प्रदान गरिने सहमति भएको छ ।

त्यस्तै दुई वर्ष काम गरेकालाई ३५ दिनको र तीन वर्ष काम गरेकालाई ५० दिन बराबरको तलब दिएर अवकाश दिने सहमति भएको बताइएको छ ।

मजदुर युनियनले राखेको कार्यालय व्यवस्थापन र पुर्णकालीन कर्मचारीको माग पनि आयोजना पक्षले पूरा गरिदिएको छ । कार्यालयसहित व्यवस्थापनका लागि मासिक पाँच हजार र एक जना पूर्णकालीन कर्मचारीको व्यवस्था गर्ने सहमति भएको आयोजनाको सरोकार तथा समन्वय समितिका अध्यक्ष जितबहादुर गुरुङले जानकारी दिए । समझदारी पत्रमा मजदुरको तर्फबाट युनियनका अध्यक्ष सरोज बस्नेत, सचिव पुष्प गुरुङ र आयोजनाका म्यानेजर दा दिङ लिले हस्ताक्षर गरेका छन् ।

समझदारी पत्रमा हस्ताक्षर भएपछि एक सातादेखि आन्दोलनमा रहेका मजदुरहरु काममा फर्किएका छन् । मजदुरहरुसँग वार्तामा बस्नुअघि बेसीशहरमा सभासद् जमिन्द्रमान घले, काँग्रेसका सभापति कृष्ण कोइराला, एमालेका अध्यक्ष धनञ्जय दवाडी, एमाओवादीका अध्यक्ष पारसमणि पौडेल, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना, स्थानीय विकास अधिकारी विष्णु शर्मा, प्रहरी निरीक्षक नवीनकृष्ण भण्डारी, सरोकार समितिका पदाधिकारी, आयोजनाका निर्माणपक्षलगायतको सहभागिता थियो ।

आयोजनाको निर्माणकार्य २०१५ भित्र सक्ने लक्ष्य राखिएको छ । २०७३ असोजदेखि व्यापारिक रुपमा विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको सो आयोजना चाइनिज कम्पनी सिनो हाइड्रोको ९० र सगरमाथा हाइड्रोपावरको १० प्रतिशत लगानीमा निर्माण भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us