गरिब महिलालाई अदुवाखेतीका लागि अनुदान

काठमाण्डु टुडे २०७१ फागुन ३ गते १०:४७ मा प्रकाशित

ilam-map
इलाम,३ फागुन– आमचोकस्थित पासाङल्हामू बहुउद्देश्यीय सहकारी संस्थाले गरिब तथा विपन्न महिलाहरुलाई खदुवा खेतीका लागि अनुदान प्रदान गरेको छ । महिलाहरुको जीवनस्तर उकास्ने उद्देश्यले व्यावसायीक अदुवा खेतीका लागि सो संस्थाले अनुदान प्रदान गरेको हो ।
जिल्ला महिला बालबालिका कार्यालयले सहकारी संस्थालाई अदुवा खेतीका लागि एक लाख ५० हजार अनुदान उपलब्ध गराएको थियो ।
सो रकम सहकारी संस्थाले आमचोक–४ का ३० जना विपन्न महिलालाई छनौट गरी अदुवा खेतीका लागि अनुदान दिइएको संस्थाकी सामाजिक परिचालिका अमृता नेपालीले बताइन् ।

अनुदान प्राप्त गरेका ३० जना महिलाले स्थानीय धनमाया राई र धनकुमारी राईको करिब पाँच रोपनी जग्गा ठेक्कामा लिएर अदुवा खेती सुरु गरेका छन् । उनिहरुले वार्षिक ३० हजार ठेक्का तिरेर उक्त जग्गामा अदुवा खेती सुरु गरेका हुन् । व्यवसायिक अदुवा खेतीका लागि प्रतिव्यक्ति ४० किलो अदुवा रोप्नुपर्ने संस्थाले जनाएको छ ।

महिला बालबालिका कार्यालयबाट प्राप्त अनुदानबाट प्रतिव्यक्ति पाँच हजार प्रदान गरिएको संस्थाले जनाएको छ । सोही रकमले अदुवा रोप्नेदेखि उत्पादन गर्नेसम्मको सबै खर्च व्यहोर्नुपर्ने सामाजिक परिचालिका नेपालीले जानकारी दिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us