सडक बालबालिका हुनु रहर नभई बाध्यता

काठमाण्डु टुडे २०७१ फागुन २ गते १३:०७ मा प्रकाशित

sadak-balbalika
काठमाण्डु,२ फागुन- झापा घर भएका १२ वर्षीय रुपक सापकोटा सानै हुँदा आमा दीलकुमारीले दोस्रो विवाह गरिन् ।  आमाले विवाह गरेलगत्तै बाबु बलदेवले पनि दोस्रो विवाह गरे । दीलकुमारी र बलदेव दुवै आपसमा मिल्न नसक्ने भएपछि अर्को विवाह गरे तर रुपकको कुनै वास्ता गरेनन् ।

आफ्ना ७० वर्षीय हजुरबा र हजुरआमासँग केही महिना गुजारा गरी घर छाडेर सडकमा आउन बाध्य रुपकले भनेः “म सानै हुँदा बाबुआमा झगडा गरेर अर्कोसँग विवाह गरे, मेरोबारेमा केही पनि भनेनन्, हजुरबा हजुरआमासँग बस्दा खानै दिने थिएनन्,त्यसपछि मागेर खान थालेँ ।”

जमल, ठमेल, रत्नपार्क र बागबजारलगायत उपत्यकाका विभिन्न स्थानमा मागेर दैनिकी चलाउँछन् रुपक । “घरमा खान नपाएर बाटोमा मागेर खान थालियो,कहिले काहीँ त मलाई पनि पढ्न मन लाग्छ,अब साथीहरु पनि छोड्न मन लाग्दैन,कति दाइ दिदी आएर हामीसँग जाउँ हिँड,खान दिन्छौँ, पढाउँछौँ भन्नुहुन्छ,जानै मन लाग्दैन”–रुपक भन्छन् ।

त्यसैगरी,ठमेल क्षेत्रको सडकमा रात काट्न बाध्य १४ वर्षीय इमान राईलाई आफ्ना बाबुआमा र घर कहाँ हो भन्नेसमेत थाहा छैन । “मलाई कसले जन्मायो बाआमा नै थाहा छैन, कोही खोज्न पनि आउँदैनन्”–पाँच वर्षदेखि यसरी सडकमा मगन्ते जीवन जीउन बाध्य राई भन्छन् ।

यसरी विभिन्न कारणले सडकमा मगन्ते जीवन जिउन बाध्य इमान र रुपक त उदाहरण मात्र हुन् । यस्ता धेरै बालबालिका सडकमै मागेर खान वा सडकमै रात काट्न बाध्य मात्र होइन, यौनशोषणमा समेत पर्ने गरेका छन् । भ्वाइस अफ चिल्ड्रेन नामक संस्थाले बालयौन दुव्र्यवहारमा परेका २६० जना बालबालिकाको उद्धार गरिसकेको छ ।

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका सहसचिव तथा महिला सशक्तीकरण तथा बालबालिका महाशाखाका प्रमुख राधिका अर्यालले ‘सडक बालबालिका उद्धार,सञ्चालन व्यवस्थापन कार्यविधि–२०७१’ ल्याउने तयारी भइरहेको हुँदा अब छिट्टै नै सडक बालबालिकाको व्यवस्थापन तथा उद्धार गरिने जानकारी दिए । उनले कार्यविधि कार्यान्वयन मुख्य चुनौतीको विषय भएको हुँदा सहयोगका लागि अपिल समेत गरे ।

गरिबी,पारिवारिक विचलन,देखासिकी,घरपरिवारको बेवास्तालगायत अन्य विभिन्न कारणले पूर्णरुपमा सडकमा आश्रित,परिवारसहित सडकमा रहेका तथा परिवारसँग सम्पर्कमा रहे तापनि सडक गतिविधिमा संलग्न बालबालिकाले सडकलाई नै जीविकोपार्जनको माध्यम बनाउँदै आएको भ्वाइस अफ चिल्ड्रेनका अध्यक्ष पुरन शाक्यको भनाइ छ ।

सो संस्थाले अहिलेसम्म सडकमा रहेका १३४३ जना बालबालिकालाई प्रत्यक्षरुपमा सेवा प्रदान गरिसकेको छ । पाँच सय ७८ जना बालबालिकालाई उनीहरुको परिवार तथा समुदायमा पुनःस्थापना गराइसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us