भ्यालेन्टाइन्स डेकै दिन प्रधानमन्त्रीले दिए राजीनामाको ‘गफ’

काठमाण्डु टुडे २०७१ फागुन २ गते १२:०० मा प्रकाशित

काठमाण्डु, २ फागुन– प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माण गरेर अनि प्रधानमन्त्री पदबाट राजीनामा दिने दाबी गरेका छन् । भ्यालेन्टाइन्स डेको दिन शनिबार बुटवल पुगेका प्रधानमन्त्रीले कुर्चीसँग लत्रेर नबस्ने बताएका हुन् ।

रुपन्देहीको यज्ञोदय बहुमुखी क्याम्पस फर्साटिकरमा भएको कार्यक्रममा प्रधानमन्त्रीले संविधान जारी गर्ने उद्देश्य पूरा गर्न प्रधानमन्त्रीको कुर्सीमा बसेको बताए ।

sushil

‘पहिले संविधान जारी होस्, त्यसपछि म यो प्रधानमन्त्रीको कुर्सीमा लत्रेर बस्ने मन छैन,’ प्रधानमन्त्रीले भने । तर उनले संविधान कहिलेसम्म बन्छ र आफूले राजीनामा दिने कुन महिनामा हो भन्ने खुलाएनन् ।

प्रधानमन्त्री कोइरालाले संविधानसभामा दुःखद घटना भए पनि अब सहमतिमै संविधान बनाउन आफू प्रयत्नशील भएको पनि जिकिर गरे ।

संविधान बनाउन एकातिर प्रक्रियाको बाटो अगाडि बढेको र अर्कोतिर सहमतिको बाटो खोल्न एमाओवादी अध्यक्षसँग आफैंले वार्ता र संवाद अगाडि बढाएकाले अब छिट्टै संविधान निर्माणमा देखिएका सबै समस्या समाधान हुने प्रधानमन्त्री कोइरालाले दाबी गरे ।

संविधान आम नागरिकको चाहना भएकाले यसमा सबै पक्ष संवेदनशील हुनुपर्ने भन्दै उनले देशमा भएको गरिबी अभाव र बेरोजगारीको समस्यालाई अबको १० वर्षभित्रमा समाप्त गर्ने लक्ष्यलाई सार्थक बनाउन आफूले काम गरिरहेको दाबी समेत गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us