ऊर्जामन्त्री ज्ञवाली अनुपस्थित हुनुभएपछि बैठक प्रभावित

काठमाण्डु टुडे २०७१ फागुन १ गते ११:३६ मा प्रकाशित

radha-gyawali
काठमाण्डु,१ फागुन– ऊर्जामन्त्री राधा ज्ञवालीको स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबारका लागि तय गरिएको व्यवस्थापिका–संसद्को कृषि तथा जलस्रोत समितिको बैठक प्रभावित भएको छ ।

समितिको शुक्रबारको बैठकमा ऊर्जा मन्त्रालय र त्यसअन्तर्गतका निकायको अर्धवार्षिक प्रगति विवरणमाथिको छलफल गर्ने कार्यसूची रहेको थियो । ऊर्जा मन्त्रालय र मातहतका निकायको कार्यप्रगति सन्तोषजनक नभएको चालु आर्थिक वर्षका लागि तय गरिएको नीति तथा कार्यक्रम प्रभावकारी रुपमा अगाडि नबढेको भन्ने गुनासो आएको थियो ।

गुनासो आएपछि समितिले छलफलका लागि ऊर्जा मन्त्री,ऊर्जा सचिव,विद्युत् विकास विभाग,नेपाल विद्युत् प्राधिकरण,बुढीगण्डकी जलविद्युत् आयोजना,नलसिंहगाड जलविद्युत् आयोजना र माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका प्रमुखलाई छलफलका लागि बोलाएको थियो ।

समितिका सभापति गगन थापाले ऊर्जा मन्त्री ज्ञवालीलाई बैठक सुरु भएको जानकारी गराउँदै सहभागिताका लागि अनुरोध गर्दै टेलिफोन गरेका थिए । टेलिफोनमा मन्त्री ज्ञवालीले आफूलाई ज्वरो आएका कारण बैठकमा सहभागी हुन नसक्ने सभापति थापाले सांसदहरु र सञ्चारकर्मीलाई जानकारी  गराएका थिए । “मन्त्री नै सहभागी नभएपछि बैठकमा महत्वपूर्ण छलफल गर्न सकिने भएन,त्यही भएर शुक्रबारको बैठक स्थगित गरिएको हो”– सभापति थापाले भने ।
केही सांसदहरुले समितिको बैठक अगाडि बढाउन आग्रह गर्नुभएपनि मन्त्रालयको विषयमा जानकारी गराउन र छलफलका लागि मन्त्री नै आवश्यक रहेको सभापति थापाले बताए ।

समितिले कृषि विकास,ऊर्जा,सिँचाइ र भूमिसुधार तथा व्यवस्था मन्त्रालयको कार्यप्रगति र चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समावेश गरिएका विषयमा निरन्तर छलफल तथा अनुगमन गर्दै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us