जनयुद्धको उकाली–ओराली

काठमाण्डु टुडे २०७१ फागुन २ गते ७:४१ मा प्रकाशित

KHAGENDARA SANGAURALA

लाल राजनीतिका नायकहरुले जनयुद्ध शुरु भयो है भनी जगत्लाई जनाउ दिँदा धेरैले यो फुच्चे पार्टीले के नै पो नाप्ला र भन्ठानेका थिए । युद्धको यत्रो आँधीबेरी उठ्ला भन्ने त मलाई पनि लागेको थिएन । तर हेर्दाहेर्दै उल्का भयो । भोका र नांगा, चुसिएका र मिचिएका, हेपिएका र दबाइएका मानिसहरुले माओवादी नेताका अनुहारमा आफ्ना अनुहार देखे । तिनका बोलीमा आफ्नो बोली सुने । तिनका योजनामा आफ्नो भविष्यको उज्यालो तस्बिर खिचिएको देखे । र, कि गरी छाड्यो कि मरी छाड्यो भनेर तिनीहरु माओवादी जनयुद्धको वेदीमा लाम लागे । र, शुरु भयो विद्रोहको चौतर्फी विस्फोट । त्यो विभेदको गर्भबाट उठेको विस्फोट थियो । त्यो अन्यायको दुश्चचक्रबाट उठेको विस्फोट थियो । त्यो वञ्चनाको पीडाबाट उठेको विस्फोट थियो । त्यो पहिचान हरिँदाको आक्रोशबाट उठेको विस्फोट थियो । विस्फोटहरुका लप्काले मुलुकै ढाक्यो, र अगस्ती र बाहुबली शोषक शासकहरुको सत्ता हल्लियो । रुढ परम्पराहरुका जरा खल्बलिए । अन्धविश्वासहरुको जालो च्यातियो । र, जनयुद्धको अग्निज्वालाको शक्तिद्वारा खूनी राजा सिंहासनबाट लखेटियो । राजा फालियो र रैती नागरिक भयो । राजा फालियो र रैतीका आङको किर्नो पन्छियो । राजा फालियो र मानिस–मानिसबीच समताको युगको देलो उघ्रियो ।

एकबारको दुर्लभ जुनीमा मानिसका लागि जीवनभन्दा प्यारो चीज अरु केही छैन । तैपनि जनयुद्धको आँधीबेरीमाझ मानिसहरु मार्न र मर्न किन तयार भए रु किनभने ती आप्mनो भाग्य आपैm लेख्न चाहन्थे । छैटीमा भावीले लेखिदिने भाग्यसँग ती वाक्क भएका थिए । पण्डित र पुरेतले लेखिदिने भाग्यसँग ती आजीत भएका थिए । मुखिया र जिम्दार, राजा र जर्नेल, जोतिसी र राशिफलेले लेखिदिने भाग्यले तिनलाई हैरान बनाएको थियो । त्यसैले जनयुद्ध सारा गरिखाने जनको आफ्नो भाग्य आपैmँ लेख्ने अभियान थियो ।

यो भयो हिजाको कुरो । अनि आज रु आज दृश्य फरक छ । आज जनयुद्धका नायकहरुका अनुहारको भाव फेरिएको छ । तिनको बस्त्र फेरिएको छ । तिनको रुचि फेरिएको छ । र, तिनको जीवनशैली फेरिएको छ । हिजो जसले तिनका अनुहारमा आफ्नै अनुहार देखेका थिए, आज त्यो देख्न छाडेका छन् । हिजो जसले तिनका बोलीमा आफ्नो बोली सुनेका थिए, आज त्यो सुन्न छाडेका छन् । हिजो जसले तिनका योजनामा आफ्नो भविष्यको चित्र खिचिएको देखेका थिए, आज त्यो चित्र हो कि होइनजस्तो गरी फिका भएको छ । आखिर यो के भएको हो रु

प्रश्न आक्रामक छ, जबाफ प्रीतिकर छैन । जनयुद्धका नायकहरु जब गाउँबाट शहर पसे, त्यही क्षणमा तिनको आचरणमा विचलनको विजारोपण भयो । शहरमा रमझम थियो । शहरमा सुस्वादु खान्की थियो । शहरमा ब्रान्डेड वस्त्र थियो । शहरमा विलासी वाहन थियो । शहरमा रमितलाग्दो हबेली थियो । शहरमा उपभोगका वस्तुहरु सहस्र थिए । जनयुद्धको नायक लोभियो । ऊ रमझमबाट मोहित भयो । ऊ भोग र सोखतिर लाग्यो । ऊ सञ्चयतर्पm आकृष्ट भयो । ऊ तल होइन माथि हेर्न थाल्यो । उल तललाई बिर्सिँदै गयो र माथि र केवल माथि ऊ एकाग्र भयो । जनयुद्ध लड्ने जनता तल छुटे । जनयुद्धमा जीवन आहुती दिने वीर–वीराङ्गनाहरुका स्मृति नायकका मस्तिष्कबाट ओझेल पर्न थाले । जनयुद्धका घाइतेहरुका आहत चीत्कार माथि सुनिन छाडे । बेपत्ताहरुमा आफन्तका पीडा उतिसाह्रो चिन्ताका विषय रहेनन् । जीवनको सादापनको आदर्श किताबमा छुट्यो र जीवनशैलीमा विलास भित्रियो । त्यागको कुरो जिब्रामै सीमित रह्यो, व्यवहारमा भोगको राज चल्नथाल्यो । जनयुद्धकालमा जीवन जिउने काइदा सामूहिक थियो, अब त्यो व्यक्तिवाद भयो । र, परिणाम जे भयो, त्यो दुनियाँका आँखासामू छ्यालब्याल छ ।

सत्ताप्रेमी बाहुबली सुशील कोइराला र केपी शर्मा ओली धन्य हुन् । तिनले माओवादी नेतृत्वमा आएको विचलन बुझे । यो बुझेर ती हुनुसम्म् चिन्तित भए । र, चिन्तामुक्त हुन तिनले माओवादी नेतृत्वलाई मार्शल लगाएर सभाकक्षबाट निकाला गरे । र, तिनले भने— गाउँ जाऊ र हिजो को थियौ र आज के भयौ जनतालाई साक्षी राखेर आत्मसमीक्षा गर । हिजो के गर्छु भनेका थियौ र आज के गर्दैछौ आफ्नै व्यवहारको ऐनामा हेर । जो जे हो र जसले जे गर्छु भनेको छ, ऊ त्यही हुनु र उसले त्यसै गर्नु राम्रो हो । आम्मामामामा, सुशील र केपीले माओवादी नायकलाई दिएको अर्ती–शिक्षा कति राम्रो !

सुन्दा यो सब काल्पनिक कथाजस्तो लाग्ला । तर जनयुद्ध भएको साँचो हो । नायक जनयुद्धको आदर्शबाट विचलित भएको साँचो हो । सत्ताधारी यथास्थितिका रक्षकहरुले माओवादी नायकलाई चाबुक दिँदै आफ्नो मौलिक स्वरुपमा फर्किन दिएको सुवर्ण अवसर पनि साँचो हो । हेर्नु छ अब के हुन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us