जनयुद्ध सम्झँदै प्रचण्डले गरे आन्दोलनको आह्वान

काठमाण्डु टुडे २०७१ माघ २९ गते १२:२४ मा प्रकाशित

prachanda

काठमाण्डु, २९ माघ– एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई फेरि आन्दोलित हुन आह्वान गरेका छन् । १९ औं जनयुद्ध दिवसको अवसरमा अध्यक्ष प्रचण्डले जनयुद्ध लगायतका आन्दोलनको उपलब्धि रक्षाका लागि आन्दोलन गर्नुपर्ने अवस्था आएको जिकिर गरेका हुन् ।

‘नेपाली जनताको महान् बलिदानबाट प्राप्त उपलब्धिलाई समाप्त पार्न प्रतिक्रियावादी शक्ति पुरै तागतका साथ लागि परेको छ,’ बिहीबार साँझ जारी वक्तव्यमा प्रचण्डले भनेका छन्, ‘वर्ग युद्धको भर्भराउँदो भट्टीमा पसेर आएको पार्टीका सामु वर्ग संघर्षका उपलब्धिको रक्षाको प्रश्न गम्भीर बन्नु स्वभाविकै हो । त्यसैले जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन, आदिबासी जनजाति आन्दोलन समेतबाट प्राप्त उपलब्धिको रक्षाका लागि फेरि एक पटक जस्तो सुकै कठिन परिस्थितिमा पनि जनताको पक्षमा आन्दोलित हुन अपील गर्दै हाम्रो पार्टी जनयुद्धको महान् भावना अमर रहने विश्वास व्यक्त गर्दछ ।’

प्रचण्डले फागुन १ लाई नेपाली राजनीतिको गौरवशाली दिन भनेका छन् । उनले जनयुद्धका सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ता योद्धा, घाइते, अपाङ्गप्रति सम्मान दर्शाएका छन् । प्रचण्डले भनेका छन्, ‘युगौंदेखि राजनीतिक, आर्थिक, सामाजिक एवम् साँस्कृतिक रुपले जकडिएको सामन्ती सम्बन्धका विरुद्ध जनताले पहल गरेको महान् जनयुद्ध आफैंमा राजनीतिक रुपले ऐतिहासिक र महान् सावित भइसकेको छ ।’

जनयुद्ध, १२ बुँदे समझदारी, १९ दिने जनआन्दोलन, मधेश आन्दोलन, जनजाति आन्दोलन लगायतका आन्दोलनले नेपाली समाजमा ऐतिहासिक उथल–पुथलसहित सामन्ती, निरंकुश राजतन्त्रको युगको अस्त गरेको प्रचण्डले वक्तव्यमा उल्लेख गरेका छन् । गणतन्त्र, संघीयता, समानुपातिक–समावेशी सहभागिता, धर्म निरपेक्षता, संघीयतामा आधारित राज्यको अग्रगामी पुनर्संरचना जस्ता राजनीतिक उपलब्धिलाई संविधानसभा मार्फत् नयाँ संविधानमा संस्थागत गर्ने ऐतिहासिक प्रक्रियालाई उनले जनयुद्धकै उपलब्धिका रुपमा चर्चा गरेका छन् ।
पछिल्ला दिनमा जनयुद्धका उपलब्धिलाई समाप्त पार्न प्रतिक्रियावादी शक्ति पुरै तागतका साथ लागि परेको भन्दै प्रचण्डले त्यसका लागि जनतालाई फेरि आन्दोलित हुन अपिल गरेका छन् ।

विज्ञप्तिको पूर्ण पाठ :

Prachanda Baktabya

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us