भित्रिभित्रै सत्तापक्षसँग वार्ता गर्दै प्रचण्ड

काठमाण्डु टुडे २०७१ माघ २९ गते ४:१० मा प्रकाशित

prachanda-sushilकाठमाण्डु, २९ माघ– आन्दोलन घोषणा गरेर देशदौडाहमा हिँडेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसी मोर्चाका नेताहरू राजधानी फर्किएर सत्तापक्षसँग भित्रभित्रै वार्तामा लागेका छन् ।

दाहालले प्रधानमन्त्री सुशील कोइरालाका प्रतिनिधिका रूपमा कानुनमन्त्री नरहरि आचार्यसँग बुधबार दिउँसो कुरा गरे । मधेसी नेता विजय गच्छदार कहिले प्रधानमन्त्री त कहिले दाहालसँग आन्तरिक वार्ताका लागि समन्वय गर्न सक्रिय छन् ।

सत्तासीन दलका नेतासँग एमाओवादी नेताले संविधानसभाको प्रक्रिया रोक्न नसके पनि स्थगन गरेर वार्ताको वातावरण बनाउन आग्रह गर्दै आएका छन् ।

एमाओवादी अध्यक्ष दाहालले आचार्यसँग पनि तत्काल प्रक्रिया स्थगन भएको भन्ने आसयको लिखित वक्तव्य प्रधानमन्त्रीले जारी गरे वार्तामा बस्न सकिने धारणा राखेका थिए ।

प्रधानमन्त्रीको सन्देश लिएर दाहालनिवास लाजिम्पाट पुगेका आचार्यले आन्दोलन छाडेर वार्तामा बस्न आग्रह गर्दा दाहालको सो धारणा आएको हो । ‘एमाओवादीसँग कुराकानी भइरहेको छ’, आचार्यले भने, ‘मिलाउने र सम्याउने काम बाँकी छ ।’

एमाओवादीसहितका विपक्षीले यसअघि प्रधानमन्त्रीले जारी गरेको वार्ताको लिखित आह्वान सच्चाएर संविधानसभाको प्रक्रिया स्थगनलगायत विगतमा भएका सहमतिअनुसार संविधान निर्माण गर्ने प्रतिबद्धता गरे वार्तामा बस्न तयार हुने सन्देश प्रधानमन्त्रीलाई पठाइसकेका छन् ।

गच्छदारले भने, ‘प्रक्रिया स्थगन भए वार्ताको वातावरण बन्छ ।’

दाहालसँग बुधबार बिहानै भेटेका गच्छदारले पनि आन्दोलन नभई गम्भीर भएर वार्तामा बस्न सुझाएका थिए ।

‘अन्तरिम संविधानको मर्म र भावना, मधेस आन्दोलन, १२ बुँदेलगायतका समझदारीको भावनाअनुसार सहमतिमा संविधान निर्माण गर्ने लिखित प्रतिबद्धता प्रधानमन्त्रीबाट आओस् भन्ने मेरो सुझाव छ’, गच्छदारले भने, ‘आमसहमति सम्भव नहुने भएकाले अधिकतम सहमतिमा संविधान बनाऔं ।’

गच्छदारले आन्दोलनरत १९ दलीय मोर्चाका संयोजक दाहाललाई पनि आन्दोलन देशले थेग्न नसक्ने भन्दै सहमतितिरै लाग्नुपर्ने सुझाव दिएका थिए । ‘आन्दोलन देशले धान्दैन । बन्दहडतालले मुलुकलाई नै क्षति पुर्या।उँछ । आन्दोलन र नेपाल बन्द गर्नु हुँदैन’, गच्छदारले भने, ‘आन्दोलन ठीक बाटो होइन ।’

दाहालसँग प्रधानमन्त्रीका प्रतिनिधिहरूले केही दिनदेखि लगातार भेटवार्ता गर्दै आएका छन् । सरकारका तर्फबाट कानुनमन्त्री आचार्य तथा कांग्रेस पार्टीतर्फबाट महामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य शेखर कोइरालाले सहमतिको वातावरण बनाउन दाहालसँग अनौपचारिक वार्ता गरिरहेका छन् ।

उनीहरूले एमाओवादी नेतृत्वको मोर्चाले आन्दोलन घोषणा फिर्ता लिए वार्ताको वातावरण बनाउन सहज हुने धारणा राख्दै आएका छन् ।
अन्नपूर्ण पोष्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us