सात ग्रामीण सडकको स्तरोन्नति सुरु

काठमाण्डु टुडे २०७१ माघ २८ गते ११:१३ मा प्रकाशित
kanchanpur_district_map

कञ्चनपुर,२८ माघ– कञ्चनपुरका सात ग्रामीण सडकको स्तरोन्नति सुरु गरिएको छ । रु एक करोडभन्दा बढीको लगानीमा स्तरोन्नतिको कार्य सुरु गरिएको हो ।
राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम (एसएनआरटिपी) अन्तर्गत जिल्लाका चार नगरपालिकाका सातवटा मुख्य सडकको नियमित मर्मतसम्भार कार्यलाई अगाडि बढाइएको हो । आवागमनमा सहजता ल्याउन सडकको स्तरोन्नतिको कार्य सुरु गरिएको कार्यक्रमका प्रमुख सञ्चालक मनोज अर्यालले बताए ।

उनका अनुसार भीमदत्त नगरपालिकाको रेडक्रस कार्यालयदेखि बागफाँटासम्मको ११।७२ किलोमिटर सडक रु ३३ लाख ९५ हजार ८१० र सोही नगरपालीकाको झोलुङ्गेपुलदेखि कुतियाकभरसम्मको १२।३४ किलोमिटर सडक रु १७ लाख ६९ हजार १५७ बजेटमा मर्मतसम्भारको कार्य हुनथालेको छ ।

यसैगरी,पुनर्वास नगरपालिकाको त्रिभुवनबस्तीदेखि परासनसम्मको ११।७१० किलोमिटर सडक रु २८ लाख ९० हजार ७५०, दोधारा चाँदनी नगरपालीकाको बाबाथानदेखि चाँदनीसम्मको १२।९० किलोमिटर सडक रु ४० लाख ११ हजार ६२८, झलारी पिपलाडी नगरपालिकाको वनसमितिदेखि पिपलाडीसम्मको १०।५३० किलोमिटर सडक रु ४७ लाख ८४ हजार २१७ बजेटमा मर्मतसुधारको कार्य हुन लागेको छ ।

झलारी पिपलाडी नगरपालिकाको झलारीदेखि फूलेलीसम्मको झन्डै सात किलोमिटर सडक र कृष्णपुरको बङ्कदेखि निगाली सडकमा सामान्य मर्मतसम्भारका लागि रु तीन लाख ५० हजारका दरले बजेटको व्यवस्था मिलाइएको छ ।
स्तरोन्नति हुन लागेका सडकमा नियमित मर्मतसुधारअन्तर्गत खाल्डाखुल्टी पुर्ने,झारपात हटाउने र नाली बनाउने कार्य गरिन लागेको कार्यक्रमका प्रमुख अर्यालले बताए । “आवधिक मर्मतसुधारअन्तर्गत स्लाब कल्भर्ट,पाइप कल्र्भट र ग्राभेलको व्यवस्था गरिने छ” उनले बताए ।

कार्यक्रम सञ्चालन भएका सडकमा नियमित मर्मतसुधारको कार्य आउँदो असार मसान्तसम्म पूरा गर्ने तथा आवधिक मर्मतको कार्य मन्त्रालयले बजेट निकासा गरेको आधारमा पूरा गरिने कार्यक्रम प्रमुख अर्यालले बताए । ‘‘सडक स्तरोन्नतिको कार्य पूरा भएपछि बसोबास गर्ने झन्डै ६० हजार बासिन्दा लाभान्वित हुने छन्’’उनले भने । मर्मतसुधारको कार्य लागू भएका सडकको हेरचाह गर्न ३८ जना सहायक कार्यकर्ताको नियुक्ति गरिएको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us