नारायणगोपाल युवा संगितकार पुरस्कार त्रिपाठीलाई

काठमाण्डु टुडे २०७१ माघ २७ गते १३:२० मा प्रकाशित

mandabi tripathi
काठमाण्डु,२७ माघ– राष्ट्रिय युवा सेवा कोषले प्रदान गर्दै आएको नारायणगोपाल युवा सङ्गीत पुरस्कार–२०७१ माण्डवी त्रिपाठीलाई तथा अरनिको युवा कला पुरस्कार–२०७१ गणेशकुमार जिसी र रोशन प्रधानलाई दिइएको छ ।

कोषद्धारा मंगलबार आयोजित कार्यक्रममा गायिका त्रिपाठीलाई रु ४० हजार  तथा  जिसी र प्रधानलाई जनही रु २५–२५ हजार र स्वर्णपदक प्रदान गरियो । थुप्रै कलाकारलाई प्रदान गरिसकिएको सङ्गीत पुरस्कारको स्थापना २०४८ मा र कला पुरस्कारको २०५७ सालमा भएको थियो ।

सो अवसरमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति सरुभक्तले सो पुरस्कारबाट अन्य युवालाई आफ्नो क्षेत्रमा मेहनत गर्न थप प्रोत्साहन मिल्ने बताए ।
कार्यक्रममा सम्मानित गायिका त्रिपाठीले गीत सुनाएकी थिइन् । यस्तै सम्मानित कलाकार जिसी र प्रधानले पुरस्कारले आफूलाई थप जिम्मेवार बनाएको र आगामी दिनमा आफ्नो क्षेत्रमा अझ मेहनत गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us