प्रधानमन्त्रीले गरे प्रचण्डलाई चौथोपटक टेलिफोन

काठमाण्डु टुडे २०७१ माघ २६ गते १५:२८ मा प्रकाशित

prachanda-sushilकाठमाण्डु, २६ माघ– प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फेरि टेलिफोन गरी वार्तामा आउन आग्रह गरेका छन् ।
बहुमतीय प्रक्रिया सच्याउन भन्दै एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले आन्दोलन घोषणा गरेयता प्रधानमन्त्रीले प्रचण्डलाई टेलिफोन गरेको यो चौथोपटक हो ।

टेलिफोन वार्ताका क्रममा प्रधानमन्त्री कोइरालाले घोषित सडक संघर्ष रोकेर वार्तामा आउन अपिल गरेको उनको निजी सचिवालयले जनाएको छ ।
यसअघि प्रधानमन्त्री कोइरालाले आइतबार सरकारका तर्फबाट लिखित रुपमै वार्तामा आउन विपक्षीलाई अपिल गरेका थिए ।

जवाफमा प्रचण्डले वार्तामा आउन सरकारले गरेको आग्रह सकारात्मक रहेको भए पनि आफूहरुका माग सम्बोधन गर्नेबारे ठोस प्रतिबद्धता नआएसम्म वार्तामा नबस्ने बताएका छन् ।

सहमतिको वातावरण बनाउन सत्तापक्षले १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान, मधेस, जनजाति, दलित, महिला र मुस्लिम समुदायसँग राज्यले गरेको सहमति र बाचाअनुसार संविधान बनाउने तयार रहेको प्रतिबद्धता जनाउनुपर्ने सर्त उनको थियो ।

यस्तै प्रचण्डले वार्ताको वातावरण बनाउन सत्तापक्षले आफूहरुको असहमतिबीच गठित प्रश्नावली समिति खारेज हुनुपर्ने सर्त पनि अघि सारेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us