‘कू’ गर्न लागेको हल्ला निराधार भएको बङ्गलादेशी सेनाको दाबी

काठमाण्डु टुडे २०७१ माघ २६ गते १३:०६ मा प्रकाशित

ढाका, २६ माघ– बङ्गलादेशको शक्तिशाली सेनाले हाल गहिरिँदै गएको राजनीतिक अस्थिरता अन्त्य गर्न हस्तक्षेप गर्ने योजना बनाएको भन्ने आशङ्कालाई खण्डन गरेको छ । सेनाले आमसञ्चारलाई पनि सङ्कटमा सेनाको काल्पनिक भूमिकाको विषयमा समाचार नदिन पनि चेतावनी दिएको छ ।

Shekh

सेनाले आफूले बङ्गलादेशको संविधान र कानुनलाई सम्मान गर्ने जानकारी दिएको छ । बङ्गलादेशमा सेनाले सन् १९७१ मा स्वतन्त्रतापछि कम्तीमा १९ पटक बलपूर्वक शासन पतन गराएको छ भने दुई सैनिक तानासाहले शासन गरेका छन् ।

सेनाले आइतबार एक विज्ञप्ति प्रकाशन गरी सेना देशभक्त सङ्गठन भएको र उसले मुलुकको संविधान तथा कानुनलाई सम्मान गर्ने उल्लेख गरेको छ ।

सेनाले आमसञ्चारले सेनाले हस्तक्षेप गर्ने भनी आशङ्कात्मक तथा काल्पनिक समाचार दिएकाले आफू बोल्न बाध्य भएको र यस्तो समाचारले जनतामा भ्रम सिर्जना गर्नसक्ने उल्लेख गरेको छ ।

बङ्गलादेशमा जनवरीको आरम्भदेखि प्रतिपक्षको नेतृत्वमा सरकार पतन गराउने उद्देश्यले देशव्यापी यातायात बन्दको आयोजना गरिएको छ । यसले मुलुकलाई प्रभावित बनाएको छ ।

यसबीच बढ्दो हिंसाका कारण कम्तीमा ८० व्यक्तिको मृत्युभएको छ । अन्य सयौँ घाइते भएका छन् र यसले कमजोर अर्थतन्त्रलाई करिब १० अर्ब अमेरिकी डलर बराबर घाटा पारेको व्यापारिक नेताहरूले बताएका छन् ।

बङ्गलादेशका प्रमुख आमसञ्चारले सेनाको हस्तक्षेपका बारेमा कम आशङ्का गरे पनि सामाजिक आमसञ्चार तथा इन्टरनेटमा यस्तो आशङ्का व्यापक रूपमा गरिएको छ ।

सन् २००७ मा महिनौँसम्म राजनीतिक अस्थिरता फैलिएपछि सेनाले हस्तक्षेप गरेको थियो । सेनाले आफ्नो समर्थनमा एक काम चलाउ सरकार गठन गरेको थियो र उसले स्वतन्त्र तथा निष्पक्ष निर्वाचन गर्नुपूर्व दुई वर्षसम्म शासन चलाएको थियो ।

प्रतिपक्षी नेता खालेदा जियालाई जनवरी ३ देखि प्रहरीले उनकै कार्यालयमा बन्द गरेपछि उनले सडक, रेल तथा जलमार्ग अवरुद्ध पार्न आह्वान गरेका थिए ।

उनले हिंसामा आफ्नो बङ्गलादेश नेसनालिस्ट पार्टीको हात रहेको कुरालाई अस्वीकार गरेका छन् । उनले प्रधानमन्त्री हसिनाले नयाँ निर्वाचनको घोषणा गर्न सहमति व्यक्त नगरेसम्म बन्द जारी रहने बताएका छन् ।
जियाले २० दलको गठबन्धनको नेतृत्व गरेका छन् र यसले गत वर्ष आम निर्वाचन बहिष्कार गरेको थियो ।

अधिकारीहरूले सवारी साधानको रक्षा गर्न हजारौँ सैनिक तथा प्रहरी तैनाथ गरेका छन् भने १० हजार प्रदर्शनकारीलाई पक्राउ गरिएको छ ।

आइतबार नै सरकार विरोधी प्रदर्शनकारीले भारतीय नगर कोलकाताबाट आएको एक यात्रुवाहक रेलमा अग्निबम प्रहार गरेका थिए तर त्यसबाट कोही पनि घाइते भएनन् ।

एक हजार भन्दा बढी बस, ट्रक तथा भ्यानमा अग्निबम प्रहार भएको र त्यसका लागि प्रतिपक्षी कार्यकर्तामाथि आरोप लगाइएको छ । आइतबार राष्ट्रिय प्रहरी प्रमुख सहिदुल हकले बस सञ्चालकलाई राती नौ बजेपछि बस सञ्चालन नगर्न आग्रह गरे ।

—————
रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us