बुहारी हत्याको आरोपमा सासू पक्राउ

काठमाण्डु टुडे २०७१ माघ २६ गते ३:३८ मा प्रकाशित

वीरगन्ज , २६ माघ –  बुहारीको हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय पोखरियाले पर्साको सबैठवाबाट सासूलाई पक्राउ गरेको छ । सो गाविस–२ पोखरिया टोलकी मतीदेवी रामलाई उनकी बुहारी २५ वर्षीया सुमनदेवी रामको हत्या गरेको आरोपमा गएराति पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ ।

प्रहरीका अनुसार छोरा किशोर रामकी श्रीमती सुमनदेवीको मतीदेवीले गत शुक्रबार घाँटी रेटेर हत्या गरेको दाबी गरिएको छ । सुमन देवीको शव नजिकैको उखुबारीमा फालेको अवस्थामा इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्र प्रहरी बेस क्याम्प सबैठवाले गएराति बरामद गरेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक निशान थापाले जानकारी दिनुभयो ।

पक्राउ परेकी मतीदेवीलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको र शव परीक्षणका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालयले जनाएको छ । मृतकका श्रीमान् किशोर भने वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुकमा रहेको बताइएको छ ।

रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us