पूरानो सोच त्यागे सहमति हुन्छः मन्त्री रिजाल

काठमाण्डु टुडे २०७१ माघ २४ गते १०:४५ मा प्रकाशित

Minendra-rijal
विराटनगर,२४ माघ- सूचना तथा सञ्चार मन्त्री मीनेन्द्र रिजालले प्रतिपक्षले आफहरुले जे भनेको सोहीमा सहमति हुनुपर्ने पुरानो सोचाइलाई त्यागेर अगाडि बढेमा सहमतिको बाटो खुल्ने स्पष्ट पारेका छन् । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै रिजालले देशको हितलाई सम्झेर प्रधानमन्त्री सुशील कोइराला सहमतिमा संविधान जारी हुनुपर्ने पक्षमा हुनुभएकाले जनादेशको मूल भावनालाई आत्मसात् गरी आउन आग्रह गरे ।

मन्त्री रिजालले शान्ति सम्झौताको मूल भावना हिंसा त्याग्ने र लोकतन्त्रलाई स्वीकार गर्ने रहेको प्रसङ्ग उल्लेख गर्दै हामी सबै शान्ति सम्झौताको पक्षधर रहेकाले सहमतिका आधारमा संविधान जारी गर्नुपर्ने बेला आन्दोलनमा जान नहुने धारणा राखेका थिए ।

उनले आन्दोलन गरेर सहमति नहुने अनाहकमा जनताले दुःख पाउने उल्लेख गर्दै संविधानसभामा बहिष्कारमा रहेका दललाई संविधानसभामा सहभागी हुन आग्रह गरे ।

संविधानसभाले बनाएको प्रश्नावली समिति भङ्ग हुन नसक्ने स्पष्ट गर्दै उनले आउँदो संविधानसभाको बैठकमा सहभागी भएर सबै असहमतिका बारेमा प्रश्न राख्न र मतदान गर्नसमेत आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us