बलजफ्ती गरे जनता चुप लाग्दैनन् : भट्टराई

काठमाण्डु टुडे २०७१ माघ २३ गते १०:१९ मा प्रकाशित

Baburam-bhattrai-stage
पोखरा,२३ माघ– एकीकृत नेकपा (माओवादी) का नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले एउटै जातिको ऐतिहासिक बाहुल्य र थातथलोका आधारमा जातीय पहिचान नमेटियोस् भनेर नै त्यस जातिको नाममा प्रदेश नामाकरण गर्न खोजिएको बताएका छन् ।  एमाओवादी कास्कीद्धारा शुक्रबार आयोजित ‘सङ्घीय गणतान्त्रिक संविधान निर्माणमा यथास्थिति र प्रतिगामी चुनौती’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले  सो कुरा बताएका हुन् ।  उनले गण्डकी प्रदेशका धेरै जिल्लामा तमुहरुको बाहुल्य भएकाले नै तमुवान राज्य राख्न खोजिएको धारणा राखे ।

संविधानका अन्तर्वस्तुमा ८० प्रतिशतमा सहमति भएको भनिए पनि मुख्य विषयमा सहमति हुन नसकेको विचार व्यक्त गर्दै  उनले सङ्घीयता,शासकीय स्वरुप,निर्वाचन र न्याय प्रणालीजस्ता संविधानका मुख्य विषयवस्तुमा सहमति नभएपछि ८० प्रतिशतमा भएको सहमतिले कुनै अर्थ नराख्ने जिकिर गरे ।
उनले नेपाली काँग्रेस र एमालेले बलजफ्ती पेलेर पुरानै संविधान ल्याउन खोजे परिवर्तनकारी जनता चुप लागेर नबस्ने चेतावनी दिए ।

भट्टराईले गएको कात्तिक १७ गते परिवर्तनका मुद्दा ओझेलमा पारेर पुरानै संविधानका अन्तरवस्तुको नौ बँुदे प्रस्ताव पेस गरेपछि एमाओवादीलगायत ३० सदस्यीय मोर्चालाई आन्दोलनमा जान बाध्य पारिएको आरोप लगाए ।

कार्यक्रममा नागरिक अगुवाहरूले मिलेर संविधान बनाउन,देशमा शान्ति सुव्यवस्था कायम गर्न, बन्द हडताल सँधैका लागि बन्द गर्न, राजनीतिक खिचातानीबाट जनतालाई ढाल नबनाउन आग्रह गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us