जनकपुर, २० मंसिर– तराई मधेसमा सक्रिय तीन सशस्त्र समूहले सशस्त्र गतिविधि त्यागेको घोषणासहित सरकारलाई हतियार बुझाएका छन् ।
संविधानसभाको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिअन्तर्गतको वार्ता उपसमितिसँगको सहमति भएपछि ती समूहले हतियार बुझाएका छन् ।
उपसमिति संयोजक आनन्दप्रसाद ढुंगानाको उपस्थितिमा जिल्ला प्रशासन कार्यलय धनुषामा उनीहरुले शनिबार हतियार बुझाएका हुन् ।
यसरी हतियार बुझाउनेमा तराई संयुक्त जनक्रान्ति पार्टी, मधेस राष्ट्र जनतान्त्रिक पार्टी क्रान्तिकारी र तराई मिलिटरी मोर्चा छन् ।
उनीहरुले तीस थानभन्दा बढी विभिन्न हतियार तथा हतियारको गोली बुझाएका छन् ।
हतियार बुझाएसँगै आफूहरु शान्तिपूर्ण राजनीतिमा सक्रिय हुने प्रतिबद्धता ती समूहले जनाएका छन् ।