घरबाट कतार जान हिंडेका पूर्वलडाकु पासपोर्ट च्यातेर विप्लवको ‘क्रान्ति’मा

काठमाण्डु टुडे २०७१ मंसिर २ गते ११:४३ मा प्रकाशित

bikashमेरो नाम विकास रोकाया ‘रोहित’ । घर जाजरकोटको पैंक गाविस– ५ । २६ वर्षको भएँ । २०५८ सालमा माओवादीको पूर्णकालिन कार्यकर्ता भएँ । त्यतिखेर गाउँकै जनता उमाविको सात कक्षामा पढ्थें । हाम्रो घर माओवादी गढमा थियो ।

१५ वर्षे किशोर म माओवादीको उद्देश्यबाट आकर्षित भएँ  । ६ महिना विद्यार्थी संगठनमा काम गरें । त्यसपछि सेनामा गएँ । सेनामा जानेबित्तिकै मुस्कान नाम गरेका कमाण्डरको अंग रक्षक भएँ । कालिकोटको पिली, रुकुमको खारा, जुम्लाको खलंगा, अछामको साँफेबगर, सोलुको सल्लेसी, सोलुकै जुनबेसी प्रहरी चौकी, बाँकेको गणेशकोटजस्ता दर्जन बढी ठूला युद्धमा प्रत्यक्ष सहभागी भएको छु ।

शान्ति प्रक्रियामा आएपछि केही महिना सुर्खेतको दशरथपुरमा अस्थायी शिवरमा बसें । चुनावका लागि वाइसीएल बनाएर बाहिर पठाइयो । चुनावअघि काठमाण्डु थिएँ । चुनावको केही दिन अगाडि जाजरकोट गएँ । शिविरबाट बाहिर आउँदा बटालियन सहायक कमाण्डर थिएँ ।

सामन्तवादविरुद्ध लडेका माओवादी नै महासामन्त
चुनाव सकियो । माओवादी पहिलो पार्टी भयो । पूर्णाकुमारी सुवेदी संविधानसभा उपाध्यक्ष भइन ।  उनीसँग सहयोगीका रुपमा करिब डेढ वर्ष बसें । माओवादीको व्यवहार मन पर्न छाड्यो । हामी जुन उद्देश्यका लागि लड्यौं त्यो अनुसारको व्यवहार पाइएन । उनीहरु मालिक भए, हामी नोकर भयौं । सामन्ती संस्कारविरुद्ध लडेर आएको मान्छे आफ्नै मान्छे भन्नेहरुबाट महासामन्ती व्यवहारको शिकार भएको कसरी सहन सकिन्थ्यो र ? मैले मन नपरेका कुरामा पटकपटक सचेत गराएँ ।

तर व्यवहारमा परिवर्तन आएन । दिक्क लागेर बाहिरिएँ । महिनामा पीएको पैसा १८ हजारजति आउँछ भन्ने सुनेको थिएँ । तर, डेढ वर्षसम्म एक रुपैयाँ पनि देख्न पाइन । खान र बस्न भने पाइन्थ्यो । सबै पैसा पार्टीमा दिएको भन्थिन् । तर मैले कहिल्यै सोधिन ।
शक्ति बस्नेतलाई गोली हानेपछि फेरि काठमाण्डु आएँ
पूर्णा सुवेदीको व्यवहारले आजित भएर घरमै गएर बसेको थिएँ । त्यतिखेर ज्यादै निराश थिएँ । काम केही थिएन । शक्ति बस्नेत हाम्रैतिरका नेता हुन् । पहिल्यै चिनेको ।

प्रचण्ड प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार थिए । कोटेश्वरको डेरामै उनीमाथि गोली प्रहार भयो । उपचारपछि निको भएर मलाई फोन गरेर काठमाण्डु आउनुस् भने । नेता हुन्, सुरक्षाको चिन्ताले फोन गरेका छन्, जाऔं न त भनेर आएँ । उनको पनि व्यवहार परिवर्तन भइसकेको रहेछ । पूर्णा सुवेदीजत्तिको झुर व्यवहार त गरेनन् तर जनयुद्धका बेलाको जस्तो थिएनन् ।

उनलाई पनि मैले पटकपटक पार्टी बिग्रिएको बारेमा ध्यानाकर्षण गराउँथें । उनले पूर्ण जित नभई सम्झौतामा आएका कारण यस्तो भएको बताउँथे । उनका कुराबाट सन्तुष्ट हुने ठाउँ भने थिएन ।  पार्टी बिग्रेको कुरा भने उनी पनि स्वीकार गर्थे । दुई वर्ष बसें । फेरि बस्नै मन लागेन । अनि गाउँ फर्किएँ । दुई वर्षदेखि गाउँमै छु । कहिले काहीं काठमाण्डु आउँछु ।
सापपोर्ट च्यातेर क्रान्तिमा जाँदैछु
पहिला हामीसँगै जनयुद्ध लडेका धेरै साथी विदेशमा छन् । सामन्तको सत्ता पल्टाएर गरिबको राज ल्याउने सपनामा जीवनको बाजी राखेर लडेकाहरु अहिले सिर्फ हातमुख जोड्नका लागि कठिन परिश्रम गरिरहेका छन् । साउदी, मलेसिया, कतार र दुबैका गर्मीमा साथीहरु अपमानपूर्वक बाँचिरहेका छन् । अफगानिस्तानको काबुलमा अमेरिकी सेनाको ब्यारेकमा कति छन् ।

अमेरिकी सेनाको सहयोगीका रुपमा काम गर्छन् । पहिलो मोर्चामै उनीहरुलाई राखिएको छ । काबुलको मुख्य व्यारेकमा ५२ जना नेपाली छन् । जसमा ५१ जना हामीसँगै काम गरेका साथी छन् । तीन जना महिला छन् । फेसबुकतिर भेट हुन्छ । कहिले काहीं फोनमा पनि कुरा हुन्छ । जोसँग कुरा भयो, उसले नेपाल नबस भन्ने सुझाव दिन्छन् । हामीलाई बर्बाद पारे ।

हाम्रो रगत र पसिनामाथि नेताहरुको सपनाको महल बनाए सबैको गुनासो यस्तै मात्र हुन्छ । साथीहरुको दबाबले भनौं या घर चलाउने बाध्यताले म पनि विदेश जाने तयारीमा थिएँ । बुबा, आमा, दिदी सबै पार्टीमा लागेका थियौं । घरजग्गा सबै बेचेर पार्टीकरण गरियो । बुबाले १२ वर्ष शिक्षक पेशा गर्नुभएको थियो । कमाउने कोही छैन । भएको सम्पत्ति पनि बेचेर पार्टीलाई बुझाएपछि के खानु ? त्यसका लागि कुनै न कुनै विकल्प त गर्ने पर्यो । नागरिकता पनि थिएन । दुई महिनाअघि नागरिकता बनाएँ । त्यसपछि पासपोर्टको फाराम भरें ।

एक हप्ताअघि एमआरपी हातमा पर्यो । मैले कतार वा मलेसियामा सेक्युरिटी गार्डमा जाने विचार गरेको थिएँ । केही मेनपावरमा कुरा पनि गरें । अहिेल पनि दलालहरु सम्पर्कमै छन् । डेढ लाख लाग्छ भन्छन् । तलब ३५ देखि ४० हजार रे ।
पासपोर्ट आएको केही दिन भएको थियो । नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले कपिलवस्तुको शिवगढीमा छुट्टै भेला गरेका छन् भन्ने समाचार सुनें । भेलापछि फेरि जनयुद्धमा जाने रे भन्ने हल्ला सुनियो । मेरा केही पूराना साथीहरु पनि भेलामा गएका रहेछन् । उनीहरुसँग कुरा भयो । हामी पक्का लड्ने नै हो भनेका छन् । केही दिन लड्नै खोजेका हुन् वा चर्चामा आउन हल्ला चलाएका हुन् भन्ने बारेमा बुझें । मंगलबार मात्र खड्गबहादुर विकसँग भेटें । सबैको कुरा सुन्दा केही गर्नै खोजेको हो जस्तो लाग्यो । अब म फेरि देश र जनताका लागि लड्न तयार भएको छु । आउने जाने गरेर पासपोर्ट बनाउन २० हजारभन्दा बढी खर्च भएको छ । ब्याज तिर्ने गरेर सबै ऋणमा ल्याएको । भाँडमा जाओस् त्यो ऋण । सकेपछि तिरौंला । नसके यस्तै भयो भनेर साहुको चित्त बुझाउँला । पासपोर्टको काम छैन । च्यातेर फालिदिन्छु ।
सबैको भरोसा विप्लवमै
अब देशमा यदि क्रान्ति हुन्छ भने त्यो विप्लवको नेतृत्वमा हुन्छ । विप्लवले पार्टीमा एक्लै हुँदा पनि फरक मत राखेको हो । मोहन वैद्यहरु जेलबाट नआउँदैदेखि विप्लवले हामी गलत बाटोमा छौं भनेका थिए । शान्ति प्रक्रिायमा आएलगत्तै भएको बालाजु बैठकमै उनले पार्टीले गलत बाटो समातेको बताएका थिए ।

अहिले पनि उनको अडान त्यही छ । हिजो उनी एक्लै थिए तर आज हजारौं मानिस उनको पछि छन् । उनीसँग स्पष्ट योजना छ । नेतृत्व गर्ने क्षमता छ । कुनै दिन प्रचण्डपछिको यो देशको नेता विप्लव नै हुनेछन् । मलाई लाग्छ कि उनले धोक दिने छैनन् । यो कुरा घरमा बुबालाई पनि भनें । हुन्छ भन्नुभएको छ । तर के विप्लवले साँच्चै क्रान्ति गर्लान र भन्ने शंका भने उहाँलाई रहेछ ।

धरै साथी खाडीबाट फर्कन्छन्  
विप्लवले क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने भन्ने कुरा सुनेर माओवादी क्रान्तिकारीहरु खुसी भएका छन् । देशबाहिर वा भित्र सबैतिर उत्साह छ । मजदुरीका लागि विदेशिएका साथीहरु देशमा साँच्चै क्रान्ति हुने हो भने आउँछौं भन्दैछन् । मलाई लाग्छ धेरै मानिस देशका लागि लड्न आउनेछन् । किने भने उनीहरुले नेपालमा हुँदा देशलाई जति चिनेका थिए । त्यो भन्दा धेरै गुणा बाहिर गएर चिनेका छन् । मसँग धेरै साथी ‘टच’ मा छन् । हामी लड्न आउँछौं  भन्नेहरु धेरै छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us