सूचना तथा सञ्चार प्रविधिमा सार्कको प्राथमिकता

काठमाण्डु टुडे २०७१ कार्तिक २८ गते ७:१३ मा प्रकाशित

काठमाण्डु – विकासको मुख्य पूर्वाधार मानिने सूचना तथा सञ्चार प्रविधिका विषयमा ठोस काम हुन नसक्दा सार्क मुलुकहरुबीच आपसी सम्बन्ध तथा आर्थिक विकासले फड्को मार्न सकेको छैन । शिखर सम्मेलन तथा अन्य बैठकहरुमा सूचना प्रविधिका क्षेत्रमा छलफल र बहस भई विभिन्न प्रतिबद्धता जनाए पनि त्यसअनुरुप काम हुन नसक्दा अपेक्षित नतिजा प्राप्त हुन नसकेको हो ।

saarcपरम्परागत कामको तुलनामा सूचना तथा सञ्चार प्रविधिको प्रयोगले जुनसुकै कामलाई पनि अत्यन्त छिटो, छरितो र पारदर्शी हुने भएकाले त्यसको प्रयोग वर्तमान समयमा अनिवार्य भएको छ । सूचना प्रविधिको अनिवार्यतालाई मनन गर्दै शान्ति, सुरक्षा र विकासमा प्रविधिको प्रयोगलाई जीवनोपयोगी बनाउन प्रविधिको विकासमा विशेष ध्यान नदिएसम्म विकासका लक्ष्यहरु हासिल हुन सक्दैनन् ।

विश्व एउटा सानो गाउँमा परिणत भई सूचना तथा सन्देशलाई एकीकृत गरी मानव चेतनास्तरमा प्रभाव पार्न सकिने भएकाले यसको महत्व अझै बढ्दै गएको हो । त्यसो त सूचना ज्ञान हो, ज्ञान नै शक्ति हो भन्ने विश्वासले शक्तिशाली बन्ने होडबाजी देखिएको छ । यस क्षेत्रको विकासमा विश्वमा अर्बौं लगानी पनि भएको छ ।

सूचना तथा सञ्चार प्रविधिको माध्यमबाट क्षेत्रीय तथा विश्वस्तरका संस्था तयार गरी सूचनाको प्रविधिको व्यवस्थापन तथा विकासलाई महत्वका साथ अगाडि बढाउने प्रयास भइरहेको सन्दर्भमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)ले पनि विशेष जोड दिएको छ ।

सबै क्षेत्रको विकासमा सूचना तथा सञ्चार प्रविधिको महत्वपूर्ण भूमिका हुने भएकाले पनि सार्क राष्ट्रहरुबीच स्वास्थ्य स्थितिमा सुधार, शिक्षास्तरमा अभिवृद्धि, व्यापार विस्तार एवम् सामिप्यताको आधारका रुपमा सूचना प्रविधिलाई ग्रहण गरी विकास गर्ने प्रयास गरिएको हो ।

सत्रौँं सार्क शिखर सम्मेलनसम्म आइपुग्दा सूचना प्रविधिको प्रयोग र उपादेयतालाई मनन गरी आपसी हित, सहयोग आदानप्रदानको साधन सूचना प्रविधिमार्फत सम्बन्धलाई प्रगाढ बनाउँदै लैजान खोजिएको छ । दक्षिण एसियाली क्षेत्रका जनताको जीवनस्तरमा सुधार ल्याउन केही वर्षयतादेखि हरेक शिखर सम्मेलनले विज्ञान तथा सूचना प्रविधिका विषयमा स्पष्ट उल्लेख नगरे पनि त्यसपछिका वर्षमा यो विषयले महत्व दिएको छ ।

सार्कको साताै र आठौँ सम्मेलनमा उठाइएको विज्ञान प्रविधिको मुद्दालाई जस्ताको तस्तै नवौंँ सम्मेलनले ग्रहण गर्यो । बायो–टेक्नोलोजी, जेनेटिक इन्जिनियरिङका विषयभन्दा बाहिरका विषयलाई सम्बोधन गर्न सकेन । श्रीलङ्काको १०औँ शिखर सम्मेलनले विज्ञान प्रविधिका विषयमा दक्षिण एसियामा विज्ञान प्रविधिको विकास महत्वपूर्ण भएको उल्लेख गर्दै स्वतन्त्र रुपमा प्रविधिको प्रवाहमा देखिएका अवरोधलाई हटाउने प्रतिबद्धता व्यक्त ग¥यो ।

यस सम्मेलनले पनि पुरानै कुरो जनताको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पार्ने परियोजना ‘बायो–टेक्नोलोजी’ तथा ‘बायो–इन्डस्ट्री’ प्रयोग गरी सहज बनाउने र त्यसका लागि पहल गरिने प्रतिबद्धता दोहो¥यायो । नयाँपन दिन नसके पनि प्रविधिको विकासको आवश्यकतामा भने जोड दिएको थियो ।

काठमाडौँमा सम्पन्न ११औँ सम्मेलनमा सूचना तथा सञ्चार प्रविधिका विषयमा स्पष्ट रुपमा उल्लेख नगरे पनि शिक्षा, स्वास्थ्य र सुरक्षाका क्षेत्रमा त्यसको प्रयोगलाई प्राथमिकता दिने उल्लेख गरियो ।

त्यस्तै, इस्लामावादमा सम्पन्न १२औँं शिखर सम्मेलनले वैज्ञानिक तथा प्रविधिको सवलीकरण र सहकार्य गरी यस क्षेत्रको आधारभूत आवश्यकतालाई द्रुत गतिमा आर्थिक तथा सामाजिक विकास गर्ने निर्णय ग¥यो । सदस्य मुलुकहरुबीच आपसमा वैज्ञानिक तथा प्राविधिक क्षेत्रका दक्ष जनशक्ति, सामूहिक अनुसन्धान तथा विकास र औद्योगिक प्रयोग गर्न प्रोत्साहन तथा सहजीकरणको प्रतिबद्धता व्यक्त गरियो । यस सम्मेलनले सूचना तथा सञ्चार प्रविधिको विकास गरी समृद्ध दक्षिण एसियाको कल्पना गरेको छ ।

साथै, यस सम्मेलनमा सूचना तथा सञ्चारको क्षेत्रलाई विशेष प्राथमिकता दिएर सञ्चार माध्यमले शान्ति, प्रगति र सौहाद्रता विस्तार गर्न सहयोग गर्छ भन्ने विश्वास लिएको थियो । सोही सम्मेलनले काठमाडौँमा सार्क सूचना केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो ।

सूचना तथा सञ्चार प्रविधि दक्षिण एसियाली देशका जनतासमक्ष पु¥याउने प्रविधिको पहुँचमा देखिएको असमानता (डिजिटल डिभाइड) लाई अन्य गरी ज्ञानमा आधारित समाज विकासमा सहयोग पुर्याउन प्रयास गरिने प्रतिबद्धता जनाएको थियो ।

श्रीलङ्काको क्यान्डीमा संस्कृति केन्द्रको स्थापना गरी सांस्कृतिक औजारहरु प्रकाशन, चलचित्र, गीत–सङ्गीत, वृत्तचित्रलाई सूचना प्रविधिको उच्चतम् प्रयोग गरी इन्टरनेटमार्फत जनस्तरमा आदानप्रदान गरी आपसी मेलमिलापको विस्तार गरिने प्रतिबद्धता गरियो । सूचना तथा सञ्चार प्रविधिको विकासका गरी दक्षिण एसियामा सामाजिक–आर्थिक परिवर्तन गर्न सकिने विश्वास लिएको यस सम्मेलनमा व्यक्त प्रतिबद्धता निकै महत्वपूर्ण मान्न सकिन्छ ।

नयाँदिल्लीमा सम्पन्न १४औँ सम्मेलनमा सहभागी राष्ट्र प्रमुखले सूचना तथा सञ्चार प्रविधिको प्रयोग गरी दक्षिण एसियालाई नजिक ल्याउन जोड दियो । सूचना प्रविधिको प्रयोग गरी क्षेत्रीय टेलिमेडिसिन सञ्जालमार्फत स्वास्थ्य हेरचाह परियोजना स्थापना गर्ने भनिए पनि यसको पूर्णरुपमा कार्यान्वयन हुन सकेन । सम्मेलनमा क्षेत्रीयस्तरमा नै युक्तिसङ्गत तबरले सहजीकरण गरी पारस्परिक आधारमा दूरसञ्चार शुल्क निर्धारण गर्ने र राष्ट्रिय तथा क्षेत्रीय दूरसञ्चार पूर्वाधार तयार गरी जनता–जनताबीचको सम्बन्ध विस्तार गर्ने सहमति भएको थियो ।

श्रीलङ्काको कोलम्बोमा सम्पन्न १५औँ सम्मेलनले सूचना तथा सञ्चार प्रविधिको विकास भन्ने छुट्टै शीर्षकमा यस क्षेत्रको अझै विकास गरी क्षेत्रीय सहकार्यलाई विस्तार गर्ने र प्रविधिको माध्यमबाट आपसी सम्पर्कलाई बढाउन दूरसञ्चार पूर्वाधारको विकास वृद्धि गर्ने निर्णय ग¥यो । स्वास्थ्य हेरचाह र शिक्षालाई व्यवस्थापन गर्न सहयोगी दूरसञ्चार परियोजना कार्यान्वयन गर्न निर्देशन दिइयो । सूचना तथा बायोटेकमार्फत जीवनस्तर सुधार्न दक्षिण एसियामा विज्ञान तथा प्रविधिको प्रयोग गर्न भारतको आयोजनामा भएको भएको मन्त्रिस्तरीय बैठकले स्पष्ट कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गरियो ।

अन्तर्राष्ट्रिय टेलिफोन गर्दा सार्क राष्ट्रभित्र न्यून दरमा एउटै शुल्क कायम गर्न पहल गर्ने भनिए पनि त्यसको पूर्ण कार्यान्वयन भएको छैन । युरोपियन देशमा एउटै ‘रोमिङ’ भएको वर्षौं भयो तर सार्कभित्र देशअनुसार फरक शुल्क कायम छ । सार्क विकास लक्ष्य (एसडिजी)मा गरिब जनतासम्म सूचना तथा सञ्चार प्रविधिको विकास गरी जनसम्पर्क विस्तार गर्ने र उनीहरुको जीवनस्तर माथि उकास्नका लागि यातायातका पूर्वाधार र टेलिफोन, रेडियो, टेलिभिजन तथा इन्टरनेट सेवा विस्तार गर्ने लक्ष्य लिइएको थियो ।

त्यसैगरी १६औँ र १७औँ सार्क सम्मेलनले पनि सूचना प्रविधिको विकास र प्रयोगलाई विशेष प्राथमिकता दिएको भए पनि स्पष्ट कार्यदिशा लिएको छैन । सार्क मुलुकभित्र दूरसञ्चारमा देखिएका अवरोध कायमै छ । गरिबी निवारणका लागि उपयुक्त माध्यम बन्ने विश्वास लिइएको सूचना प्रविधि तल्लो तहका जनताले थेग्नै नसक्ने महँगो भएकाले यसलाई सस्तो र सर्वसुलभ बनाउन आवश्यक छ ।

जनता–जनताबीचको सौहाद्र सम्पर्क विकास गरी समृद्ध दक्षिण एसिया बनाउने लक्ष्य कागजमै सीमित हुनुको अर्को पाटो सूचना प्रविधिको विषयमा जनतालाई शिक्षित गराउन नसक्नु पनि हो । नेपालमा हुन गइरहेको १८औँ शिखर सम्मेलनले आम जनताका लागि सूचना प्रविधिको प्रयोग हुने स्पष्ट खाका आउने अपेक्षा गरिएको छ । दक्षिण एसियाको सबैभन्दा शक्तिशाली व्यक्ति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका अवसरमा नेपालको संसद्लाई सम्बोधनमा प्रयोग गर्नुभएको ‘हिट’ सूत्रभित्रको सूचना प्रविधिको विषयमा १८औँ शिखर सम्मेलनले ठोस निर्णय गर्ने विश्वास लिइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us