

काठमाण्डु, २६ कात्तिक– अर्थमन्त्री रामशरण महतले आफ्नै निर्णयमा विवादास्पद सहसचिव भरत सुवेदीलाई कानुन मिचेर अर्थमा काज सरुवा गरेको विषयलाई लिएर सामान्य प्रशासन मन्त्रालयले मंगलबार श्रम मन्त्रालयलाई तीनदिने म्याद दिँदै स्पष्टीकरण सोधेको छ ।
सामान्य प्रशासन मन्त्रालयले आफ्नो प्रस्ताव र सहमतिविना सहसचिव तहका कर्मचारीको सरुवा र काज पठाउने निर्णय हुन नसक्ने उल्लेख गर्दै ‘कानुनविपरीत सुवेदीलाई किन र कसरी काज सरुवा गरेको ?’ भन्दै श्रमसँग तीन दिनभित्र स्पष्टीकरण मागेको मन्त्री लालबाबु पण्डितले बताए ।
अर्थमन्त्री महतको दबाबमा श्रम मन्त्रालयले मातहतको सीप विकास केन्द्र प्रमुख रहेका सुवेदीलाई दुई साताअघि अर्थमा काज सरुवा गरेको हो । पटकपटक आर्थिक विवादमा पर्दै आएका सुवेदीलाई महतले ‘मन्त्रीस्तरीय’ निर्णय गरी राजस्व अनुसन्धान विभागको उपमहानिर्देशक बनाइसकेका छन् ।
कान्तिपुर दैनिकबाट