इलामको माइखोलामा २५ सय मलामी, एकै दिन चारको अन्त्येष्टि

काठमाण्डु टुडे २०७१ कार्तिक १७ गते २:५३ मा प्रकाशित

malamiइलाम, १७ कात्तिक– एकै दिन चार जनाको मलामी १ झट्ट सुन्दा अनौठो लाग्नसक्छ ।
तर, मकवानपुर बस दुर्घटनाले शोकमा डुबेका दर्जनौं इलामेली आइतबार एकै दिन चारजनाको मलामी गएका छन् । त्यो पनि कालगतिले मृत्यु भएका बुढापाकाको होइन, मखमली सपना सँगाल्दा–सँगाल्दै सवारी दुर्घटनामा ज्यान गुमाउन पुगेका विद्यार्थीको । बिहान ९ बजेदेखि सुरु भएको मलामी जानेक्रम साँझसम्मै चलिरह्यो ।
छुट्टाछुट्टै ठाउँका चितामा शब जल्दा इलामको माइखोला दिनभर धुवाँमा रङ्मङ्गियो । मेची राजमार्गमा यात्रा गर्ने तर मकवानपुर दुर्घटनाको भेउ नपाएका यात्रु अचम्मित हुँदै गोदक र गोलाखर्कबाट खोलाबाट पुत्पुताइरहेको धुवाँ नियाल्दै थिए । त्यहाँको धुवाँ पातलो पातलो हुँदै आकाशमा बिलाइरहँदा मलामी पनि घर फर्किंदै गए । दुर्घटनाको चोट सहेका चार परिवार पनि मन अमिलो पार्दै घर फर्किए ।
परिवारसँग चाडपर्व मनाएर अध्ययन निम्ति राजधानी फर्कंदै गरेका धेरै विद्यार्थी चढेको बस दुर्घटनामा पर्दा मृत्यु भएका चारजनाको अन्त्येष्टिमा दुई हजार पाँच सयभन्दा धेरै मानिस माइखोलामा जम्मा भए । त्यसमध्ये धेरैजना चारवटै घाट पुग्ने पनि थिए । ‘एकै दिन चार जनाको मलामी जानुपरेको थिएन र जानु नपरोस् पनि’ काँग्रेस नेता बेनुपराज प्रसाईंले भने, ‘यस्तो दुर्दशा कसैलाई आइनपरोस् ।’
बरबोटे–४, धारापानीका प्रवीण आचार्यको शव साँझ ५ बजे राजदुवालीस्थित घाटको चितामा जलाउन राख्दा डाँको छोडेर रुनेलाई सम्हाल्न मुस्किल थियो । रिब्स स्कुलबाट एसएलसी सकेर राजधानीको एम्बिसन कलेजमा अध्ययनरत उनको मलामीमा माइपोखरी–पुवाखोलादेखि बिव्ल्याँटे र फिक्कलसम्मका पाँच सयभन्दा धेरै ओइरिए । राति ८ बजेसम्मै मलामीले जल्दो चिता हेर्न छोडेनन् ।
बस दुर्घटनामा परेकी प्रवीणकी आमा पवित्राको भने भरतपुर मेडिकल कलेजमै उपचार भइरहेको छ । बुबा खेमराज अर्धबेहोस छन् । चितामा दागबत्ती दिने बेला माइखोलामा लडिबुडी गरेका उनले एक्लो छोरा गुमाउँदाको पीडा अरु धेरै समय खेप्नुपर्नेछ । ‘पढ्न लेख्न र बाहिरी ज्ञानमा त्यत्तिको तगडा विद्यार्थी निकाल्न लामो समय पर्खिनुपर्छ’ शिक्षक गोपाल नेपाल भन्दै थिए, ‘ठूलो क्षति भयो ।’
राजधानीमै एमबीए दोस्रो सेमेस्टर अध्ययनरत इनपा–८, पिपलबोटेका रोशन भट्टराईको अन्त्येष्टि बिसहाते घाटमा गरियो । शव घाट लैजानुअघि दुईटा बस जुद्धा क्षतविक्षत बनेको उनको मुहार सुम्सुम्याउँदै घरमा भक्कानो छोड्ने आफन्त बग्रेल्ती थिए । बिसहाते घाटमा अन्त्येष्टि गर्दा त्यत्तिको मलामी कहिल्यै नदेखेको सम्झिँदै नातेदार धर्म भट्टराईले पारिवारिक क्षति अपूरणीय बताए ।
नामसालिङका मिलन अधिकारीको शव मकवानपुरबाट सोझै माइवेनीघाट ल्याइएको थियो । एकोहोरो बजिरहेको शङ्खको निरश ध्वनिसँगै सोयाङ, पञ्चकन्या, गोदक र नगरक्षेत्रका मलामी त्यो घाटमा भलिए । आइटी विषयको चौथो सेमेष्टर पढ्दै गरेका उनी चाडपर्व मनाएर राजधानी फर्किंदा दुर्घटनामा परी मृत्यु भएको सनसनी खबरले माइवेनी बगरमा नअट्ने गरी मलामी जुट्न समय लागेन ।
एम्बिसन कलेजबाटै प्लस टु सकेका तिल्केनीका प्रिजज दाहालको माइखोलाकै सोतीघाटमा अन्त्येष्टि गरियो । दुर्घटनास्थलबाट ल्याइएको शव तीन घण्टाजति घरमा राखेर ओरालो झार्दा हिक्का छोड्दै रुने आफन्त धेरै देखिए । आँशु पुछ्दै सुँकाउने सबैजसो । पढाईमा पहिल्यैदेखि तेज उनको मृत्युले स्तव्ध तिल्केनी अझै सामान्य भएको छैन । मलामीमा सबै जात, पेशा, धर्म र वर्गका देखिए ।
धारापानीका प्रवीणसँगै शव ल्याइए पनि इनपा–४, गोलाखर्ककी इशा कार्कीको आइतबार अन्त्येष्टि गरिएन । इशासँगै दुर्घटनामा परेकी दिदी जिना भरतपुर मेडिकल कलेजमै उपचाररत रहेको र तयारी पूरा नभएकाले उनको सोमबार मात्रै राजदुवालीघाटमा अन्त्येष्टि हुनेछ । शव राखिएको घरमा इशाको क्षतविक्षत मुहार नियाल्न आउने शुभचिन्तक र साथीसंगीको थामिनसक्नु भीड लागेको छ ।
‘जीवनमा धेरै दुर्घटना देखियो, मलामी गइयो तर एकै दिन माइखोलामा चारवटा लास जलेको थाहा थिएन’ एमाले नेता भक्त केसीले शव हेर्दै भने, ‘यस्तो त्रासपूर्ण दुर्घटना कसैले नब्यहोरोस् ।’ दुर्घटनामा ज्यान गुमाएका जम्मा १० जनामध्ये इलामका आठ थिए । त्यसमध्ये तीन (रक्षा श्रेष्ठ, आस्था तोलाङ्गी र सुजाता काफ्ले) को शव उतै अन्त्येष्टि गरियो । घाइते थुप्रैको उपचार चितवनमै हुँदैछ ।
मेची राजमार्गको इलाम खण्डमा यसअघि तीनवटा ठूला सवारी दुर्घटना भए पनि माइखोलामा एकैदिन यसरी दाह संस्कार गरिएको थिएन । यसपल्ट दुर्घटनास्थल मकवानपुर भए पनि जिल्लामै शव ल्याएर एउटै खोलामा अन्त्येष्टि गर्दा इलामेली शोकमा छन् । अझ उच्च शिक्षा अध्ययनरत क्षमतावान विद्यार्थी एकैपल्ट गुमाउनुपर्दा त्यसको क्षति गहिरो भन्दै चिन्ता व्यक्त गर्ने असंख्य छन् ।
मृतक सबैमा श्रद्धाञ्जलीसहित शोकसन्तप्त परिवारलाई धैर्यधारण गर्न आग्रह गर्दै जिल्लाका सबै शैक्षिक संस्थाको पठनपाठन सोमबार बन्द गर्न आह्वान गरिएको छ । प्याव्सन र शिक्षक युनियनले गरेको त्यस्तो आग्रह गर्दै सवारी दुर्घटना हुन नदिन सबै पक्षसँग आह्वान गरेका छन् । इलाम उद्योग वाणिज्य संघले दिउँसो १२ बजेसम्म बजार बन्द गर्नेछ । होटल र लजहरु भने दिनैभर बन्द रहने छन् ।

अन्नपूर्ण पोष्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us