बामदेवले अंग्रेजी नजान्दा विदेशीका सामु नेपालकै बेइज्जत

काठमाण्डु टुडे २०७१ असोज ८ गते ५:३७ मा प्रकाशित

काठमाण्डु,  ८ असोज– अरुले केही फुक्र्याइदियो भने फुरुंङ्ग पर्ने र आफू उभिएको धरातल नै बिर्सिने गृहमन्त्री बामदेव गौतमका कारण गत साता मुलुकले नै लाज bamdevमान्नुपर्ने अवस्था देखियो ।

सार्क गृहमन्त्रीस्तरीय बैठकका लागि काठमाण्डु आएका पाकिस्तानबाहेक छ देशका गृहमन्त्रीहरुका बीचमा गौतम हाँसोका पात्र बने ।
त्यसको मुख्य कारण थियो, गृहमन्त्री गौतमले प्रयोग गरेको भाषा । होटल ह्यातमा आयोजित उक्त बैठकलाई आयोजकका हैसियतमा गौतमले सम्बोधन गर्नुपर्ने थियो । तर उनलाई अंग्रेजी फुट्टी नआउने । अनि उनले अंग्रेजी अक्षरको उच्चारण सरकारी स्कुलमा दुई–तीन कक्षामा पढ्ने विद्यार्थीले झैं नेपाली अक्षरमा लिएर पढे । उनको भाषण सुन्दा सहभागीहरु लाजले मुख छोपेर हाँसेका थिए ।

उनी घरिघरि जोसिएर नेपालीमा भाषण गरुलाझैं गरेर बोल्थे भने घरिघरि अर्कैथरि उच्चारण गर्थे । कार्यक्रममा सहभागी एक उच्च स्रोतले दिएको जानकारीअनुसार गौतमले ‘कोअपरेसन’ भन्नुपर्ने ठाउँमा ‘कर्पोरेशन’ भन्दा भाषणको पूरै सार बिग्रिएको थियो ।
एमाले उपाध्यक्षसमेत रहेका गौतमले अंग्रेजी नबुझेका कारण नेपालको लगानी बोर्ड र भारतीय कम्पनी जीएमआरबीच माथिल्लो कर्णाली जलविद्युत् आयोजनाका लागि विद्युत् व्यापार सम्झौता (पीडीए) हुन पनि दुई दिन ढिलो भएको थियो । भएको के रहेछ भने १ सय ५५ पृष्ठ लामो उक्त सम्झौतापत्रमा प्राकृतिक प्रकोपका कारण जलविद्युत् आयोजना बिग्रिएमा नेपालले नै बनाउनुपर्नेछ भन्ने प्रावधान छ भनेर कुनै लालबुझक्कडले गौतमलाई भनिदिएको रहेछ ।

एक त त्यति लामो दस्तावेज, त्यसमा पनि अंग्रेजीमा भएपछि गौतमले पढ्ने कुरै भएन । त्यसैले के–के न मुद्दा पाइयो भन्दै उनी एमाले अध्यक्ष केपी ओलीलाई सुनाउन हस्याङफस्याङ गर्दै बालकोट पुगे ।

तर, जेजस्ता प्रावधान स्वीकार गरेर भए पनि भारतीय कम्पनीसँग उक्त सम्झौता स्वीकार गर्नुपर्छ भन्ने मान्यतामा रहेका गौतमले उनको कुरा हावामा उडाइदिए । कहाँ त्यस्तो हुन्छ ? बन्द, हड्ताल भएमा मात्रै नेपालले क्षति व्यहोर्नुपर्छ ,प्राकृतिक प्रकोप आएमा हामीले पर्दैन भन्दै उनले गौतमलाई भनेका थिए ।
त्यतिबेलासम्म गौतमले एमालेका अरु पदाधिकारीलाइ पनि यस्तै गलत सूचना प्रचार गरिसकेका रहेछन् । एक पदाधिकारीले भने ,‘हामी सबैका हातमा दस्तावेज थिएन । त्यसैले उनले भनेको पत्याउनै पर्यो ।

बुधबार साप्ताहिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us