
सप्तरी, १३ असार– सप्तरीमा बलात्कार अभियोगमा पक्राउ परेका एक युवकलाई छुटाउन एमाले जिल्ला नेतृत्वले प्रहरी र पीडितलाई दबाब दिएको खुलासा भएको छ ।
बलात्कार अभियोगमा पक्राउ परेका सप्तरी मधुपट्टी–३ का २६ वर्षीय देवकुमार सदा मुसहरलाई छुटाउन एमाले जिल्ला नेतृत्वले दबाब दिएको हो । पीडित परिवारले प्रहरीमा जाहेरी दिएपछि एमाले सप्तरी अध्यक्ष गोविन्द न्यौपानेसहितका नेताले पैसामा मिलापत्र गर्न दबाब दिएको सार्वजनिक भएको छ ।
घटनाबारे इलाका प्रहरी कार्यालय कल्याणपुरमा भएको छलफलमा न्यौपानेले ७५ हजार रुपैयाँ दिएर जबर्जस्ती मिलापत्र गराउन खोजेको पीडित युवतीकी आफन्त सीता देवीले बताइन् ।
‘घटना जे हुनु थियो भइहाल्यो, अब पैसा लिएर मिलापत्र गराऔं’, न्यौपानेको भनाइ उद्धृत गर्दै उनले भनिन्, ‘आखिर जाहेरी दिएर, मुद्दा लडेर के हुन्छ ?’ अध्यक्ष न्यौपानेले भने घटना मिलापत्रका लागि आफूले कुनै किसिमको दबाब नदिएको दाबी गरे ।
स्वास्थ्य जाँचका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल पुगेकी २० वर्षीया पीडित युवतीले राजनीतिक दबाबकै कारण मिलापत्र गर्नुपर्ने भन्दै प्रहरीले स्वास्थ्य परीक्षण गराइदिन नमानेपछि आफैं अस्पताल आएको बताइन् ।
घरमा एक्लै सुतिरहेका बेला गत मंगलबार राति सदाले ज्यान मार्ने धम्की दिंदै बलात्कार गरेको उनले बताएकी छन् । घटनाको एक दिनपछि स्थानीयवासीको सहयोगमा प्रहरीले सदालाई कुशहाबाट पक्राउ गरेको थियो । पीडित युवतीकी आमाको सानैमा निधन भएको थियो भने
बाबु रोजगारीका सिलसिलामा भारतमा छन् । यसैबीच इलाका प्रहरी कार्यालय कल्याणपुरका निरीक्षक विजयकुमार यादवले मिलापत्र गराउन आफूहरुले कुनै दबाब नदिएको र अभियुक्तलाई नियन्त्रणमा लिई आवश्यक कारबाही अघि बढाइसकेको बताएका छन् ।