पहिला स्याउ फल्ने मुस्ताङका बारीमा अहिले मकै

काठमाण्डु टुडे २०७१ असार ५ गते २:०७ मा प्रकाशित

 मुस्ताङ, ५ असार–बूढाबूढी भन्छन्, लुगाफाटोजस्तै खेतीवाली पनि समयअनुसार गर्नु पर्दो रहेछ ।

यतिबेला मध्य मुस्ताङमा स्याउका रुखमा ढकमक्क फूल खेलिरहेको छ तर केही समयअघि सम्म स्याउको उत्पादन राम्रो मानिने तल्लो मुस्ताङको कुन्जो र लेते गाविसमा भने स्याउको फूल हेर्न अन्यत्र जानु पर्ने बाध्यता छ ।

यो क्रम कोवाङ गाविससम्म आइपुगेको छ । यस क्षेत्रका कृषकले स्याउको विकल्पमा तरकारी, अन्नबाली र ओखरखेती गर्न थालेका छन् ।

कृषकले स्याउका बोट मासेर कमै, गहुँ, जौँ, उवा, आलु, सिमी, फापरलगायत अन्नबाली र तरकारीखेती गर्न थालेका छन् । कुनै समय लटरम्म फलेका स्याउका दानाले भरिएर मनमोहक देखिने कुन्जोको ताग्लुङस्थित स्याउबारी अहिले मकैबारीमा परिणत भएको छ ।

अन्यत्र साउनभित्रै मकै पाकेपनि मुस्ताङमा भने असोज कात्तिकमा मात्र पाक्ने गर्छ । अनुकूल वातावरणको अभावमा स्याउ उत्पादन हुन छाडेको कृषकले बताएका छन् । पहिले करिव एकसयभन्दा बढी स्याउका बोट भएको कुन्जो, ताग्लुङकी शारदा गौचनको स्याउबारीमा हाल दुइवटामात्रै स्याउका बोट छन् ।

स्याउ फल्न छाडेपछि अन्न र तरकारी खेती गरिएको वताउँदै गौचनले भनिन्,’गर्मी पनि पहिलेभन्दा बढेको छ, धेरै पहिलेदेखि स्याउका बोट मासेर अन्न र आलू खेती गर्न थालेका छौँ ।’

गोरखापत्रबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us