प्रधानमन्त्रीले आज चिनियाँ उपप्रधानमन्त्री भेट्ने

काठमाण्डु टुडे २०७१ जेठ २३ गते १:४८ मा प्रकाशित

काठमाण्डु, २३ जेठ– उत्तर छिमेकी चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री सुशील कोइरालाले आज त्यहाँका उपप्रधानमन्त्री वाङ याङसँग भेटवार्ता गर्दैछन् ।

Sushil-Koirala
चीनको दक्षिण–पश्चिम सहर कुन्मिङमा हुने भेटवार्तामा द्विपक्षीय हित र चासोका विविध विषयमा कुराकानी हुने बताइएको छ । कोइरालालाई भेट्न वाङ बेइजिङबाट कुन्मिङ आइसकेका छन् ।
सुरुमा प्रधानमन्त्री लिखछ्याङसँग भेट्ने भनिए पनि उनको समय अभावका कारण उपप्रधानमन्त्री वाङले कोइरालासँग भेट्न लागेका हुन् । चिनियाँ कम्युनिष्ट पार्टीका पोलिट्ब्युरो सदस्यसमेत रहेका वाङ वैदेशिक सहायता, लगानी र व्यापार प्रवद्र्धन हेर्ने महत्वपूर्ण जिम्मेवारीमा छन् ।
प्रधानमन्त्री कोइराला कुनमिङमा हुने साउथ एसिया एक्सपोमा सहभागी हुन ३५ सदस्यीय जम्बो टोलीको नेतृत्व गर्दै बिहीबार त्यसतर्फ प्रस्थान गरेका थिए । टोलीमा विभिन्न दलका सभासद, परराष्ट्रका अधिकारी र पत्रकारलगायत सहभागी छन् ।

कोइरालालाई लिन विशेष विमान पठाएको चीनले त्यहाँ उनलाई विशेष सम्मान दिएको छ । एक्स्पोमा नेपालको विशेष पेभेलियनसहित झण्डै ८० वटा व्यवसायिक स्टल छन् । एक्स्पो उदघाटन समारोहमा सहभागी भएर कोइराला नेतृत्वको टोली आजै स्वदेश फर्कने कार्यक्रम छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us