राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षकले नेपाल छाडे, क्यानडा प्रस्थान

काठमाण्डु टुडे २०७१ जेठ २१ गते १०:२२ मा प्रकाशित

pubuduकाठमाण्डु, २१ जेठ– नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुबुदु दाशानायकेले आफ्नो पद छाडेका छन् ।  श्रीलंकाली मुलका क्यानडाली पुबुदु ६ महिना कार्यकाल थप गर्ने क्यानको निर्णय अस्वीकार गर्दै उनी बुधबार स्वदेश फर्किएका हुन् ।

दुई वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल छिर्दा पुबुदु दाशानायकेले भनेका थिए, ‘म चुनौति स्वीकार गर्ने नेचरको छु ।’

दाशानायके उही प्रशिक्षक हुन्, जसले क्यानेडालाई विश्वकपसम्म डोर्‍याए । नेपाललाई पनि विश्वकप खेलाउने सपना उनले बाडदा सेलाइसकेको विश्वकपको नारा फेरि देशभर उठ्यो । यसबीचमा उनले हावादारी प्रशिक्षक भएको आरोप समेत सहनुपर्‍यो ।

हुनत  विश्वकपको मुद्धा उठेको झण्डै १७ वर्ष पुगिसक्यो । तर सन् २००७ को एकदिवसिय विश्वकप खेल्ने नेपालको लक्ष्य विश्वासयोग्य थिएन । पूर्व कप्तान विनोददास भन्छन् ‘नेपाल क्रिकेट संघका अध्यक्ष जयकुमारनाथ शाहले सन् १९९६ मै विश्वकप खेल्ने महत्वाकांक्षा बनाएका थिए । उनको योजनालाई खिल्ली उठाइयो ।’ विनोद दासको कप्तानीमा रहेको टोलिका खेलाडीलाई त्यतिबेला विश्वकपको प्रसंग जोडेर बारम्बार खिल्ली उठाइन्थ्यो । यस्तै परिस्थितबीच नेपाल क्रिकेट संघका तत्कालिन अध्यक्ष विनयराज पाण्डेले भन्ने गर्थे, ‘नेपाली क्रिकेट एक बिन्दूमा पुगेर अड्कियो ।

नेपाली क्रिकेटलाई उमेर समूहमा एकपछि अर्को सफलता दिलाउने प्रशिक्षक अरु कोही नभएर पुबुदुकै देशका रोय लुक डायस थिए । तर डायसको प्रशिक्षणमा हुर्किएर उमेर समूहमा सनसनी पिट्दै दक्षिण अफ्रिका, पाकिस्तान र न्युजिल्याण्डजस्ता राष्ट्रलाई हराउन सफल नेपाली क्रिकेटरहरु उमेर र अनुभव बढ्दै जादाँ स्वभाविक प्रदर्शन र अपेक्षा पुरा गर्न असफल रहे ।

डायस कार्यकालमा नेपालले जितेको एउटै मात्र उपाधि रह्यो, एसीसी डिभिजन –५ क्रिकेट । एउटा बिन्दुमा पुगेर अड्किएको नेपाली क्रिकेटलाई अहिले दासनायकेले फेरि अर्को उचाई दिएका छन् । डायसले झैँ उमेर समूहमा सनसनीपूर्ण नतिजा दिलाउन पुबुदुले सकेका छैनन् । तर उनको नेतृत्वको राष्ट्रिय टिमले सिनियर क्रिकेटमा एकपछि अर्को छलाङ मार्दै विश्वकपसम्मको यात्रा गर्‍यो ।

नेपाललाई आईसिसी ट्वान्टी ट्वान्टी कप छनौटमा सातौँ स्थानमा डोहोर्‍याएपछि पुबुदसँग सबैको आशा र अपेक्षा बढेको थियो । पुबुदुले नेपाली खेलाडीलाई उत्कृष्ट फर्ममा फर्काउनका लागि लामै कसरत गरेका छन् । उनले खेलाडीलाई एकपछि अर्को एक्पोजर दिए ।

पारस खड्काले क्यानेडाको ओन्टारयो क्लबमा ४ महिना व्यवसाहिक क्रिकेट खेलेर फर्कनासाथ शक्ति गौचनलाई भारतीय आइपिएल लिग क्लब राजस्थान रोयल्समा अभ्यास गर्ने मौका पुबुदुले जुटाइदिए । शक्तीले भारतीय क्रिकेटका हस्ती राहुल द्रबिडलाई अभ्यासका क्रममा बोल्ड गर्दै सनसनी पिटेको किस्सा सेलाउन नपाउँदै उनले अमृत भट्टराई र चन्द्र साउदलाई श्रीलंका पठाइसकेका थिए । उनकै पहलमा अनिल मण्डल, शरद भेष्वाकर र ज्ञानेन्द्र मल्लले भारतमा प्रशिक्षण गर्ने अवसर पाए ।

राम्रा खेलाडीहरुसँग भिड्न नसक्ने कमजोरी हटाउन खेलाडीलाई अन्तर्राष्ट्रिय म्याच एक्सपोजर तथा पर्याप्त प्रशिक्षणको व्यवस्था मिलाउने तल्लिन पुबुदुको टिम यतिबेला पूरै आत्मविश्वासी छ । ट्वान्टी ट्वान्टी विश्वकपका लागि नेपाललाई छनोट गराइसकेका पुबुदु भन्छन् – ‘ यही टिमले विश्वकप खेल्नेछ, एकदिवसीय पनि ।’

नेपाली टोलीलाई नयाा उर्जा भर्दै विश्वकपसम्म पुर्‍याएर सफल अवतरण गराएका पुबुदुको निरन्तरताका विषयमा यति ठूलो बहस आखिर आवश्यक थियो ? के उनको आवश्यकता अब नेपाली टिमलाई थिएन ? झट्ट हेर्दा नेपाली टोलीलाई सफल प्रशिक्षण दिएको मात्रै देखिएपनि पुबुदुले नेपाली क्रिकेटको जरैसम्म हल्लाएका छन् । त्यसैका कारण क्यानका केही पदाधिकारी उनीसँग रुष्ट छन् ।

नेपाली टोलीलाई पुबुदुले नयाँ जीवन दिएको यर्थाथ कसैसामु छिपेको छैन् । यस अर्थमा उनी निकै पारदर्शी छन् । तर झट्ट हेर्दा पारदर्शी र मैत्रिपूर्ण देखिने पुबुदु उत्तिकै चलाख पनि छन् । चलाख भएकै कारण त उनी ठूला–ठूला टिमको रणनिति बुझ्दै त्यसलाई चिर्न सफल छन् । पुबुदुले नेपाली क्रिकेटलाई माथिल्लो स्तरसम्म डोहोर्‍याइरहादा नेपाली क्रिकेटमा राजनिति गर्न पल्केका मैदानबाहिरका खेलाडीहरु भने नराम्ररी झस्केका छन् ।

नेपाली टिमका एक प्रशिक्षक भन्छन्, ‘ उनले खेलाडीलाई मैत्रिपूर्ण व्यवहार गर्ने गरेका थिए । टिमका सबै खेलाडीमात्रै होइन राष्ट्रियस्तरका प्रशिक्षकहरु समेत पुबुदुसँग खुसी थिए । उनले चयन गरेका खेलाडीहरुले राष्ट्रिय टिमबाट राम्रो नतिजा समेत निकालेका छन् । त्यसका बाबजुद उनी अस्विकार्य हुनु आफौमा रहस्यको विषय हो ।’ पुबुदुको निरन्तरताका विषयमा प्रश्न उठ्नुसाग यस्तै धेरै रहस्यहरु जोडिएका छन् ।

जसका बारेमा न त पुबुदुले बोलेका छन् न खेलाडी वा राष्ट्रिय स्तरका प्रशिक्षकहरुले नै खुलेर बोल्न सक्छन् । नाम नछाप्ने शर्तमा एक प्रशिक्षक भन्छन्, ‘ आर्थिक पाटो यससँग जोडिएको सबैभन्दा ठूलो विषय हो । त्यस्तै खेलाडी चयनको विषय अर्को हो ।’ नेपाल क्रिकेट संघका लामो समयदेखी राजनिति गर्दै आएका व्यक्तिहरुको हालीमुहाली पुबुदुको आगमनसँगै घटेको छ । उनको आगमनपछि नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को सफलता हात पार्दै आएको छ । त्यस्ता सफलतासँगै जनताको चासो क्रिकेटप्रति दिनप्रतिदिन बढ्दै छ ।

त्यसैले अब क्रिकेट कोही एक्लो व्यक्तिको खेल रहेन । क्रिकेटमा लामो समयदेखी हालीमुहाली गर्दै आएका व्यक्तिहरु भने जनतस्तरमा यसको बढ्दो प्रभावबाट बिस्थापित हुन सकिने डरमा छन् । खेलाडी चयनका समयमा पुबुदुले प्रयोग गरेको अधिकार उनीहरुका लागि अर्को टाउको दु:खाईको विषय हो ।

यसअघि पुबुदुले नेपाली टिममा सोमपाल कामी र जीतेन्द्र मुखियालाई रातारात मौका दिएका थिए । असन्तुष्ट समूहलाई त्यसको गतिलो जवाफ फर्काउँदै कामी र मुखियाले विश्वकपमा पनि लोभलाग्दो प्रदर्शन गरे ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी)बाट नेपाललाई प्राप्त हुने हरेक सहयोगका बारेमा पुबुदु जानकार छन् । त्यसैले रहस्यमै राखेर त्यस्तो सहयोग रकममा मस्ती गर्न खोज्नेका लागि पनि पुबुदु सबैभन्दा ठूलो टाउको दुखाई हुन् । उनले नेपाल सरकारसाग मात्रै होइन आईसिसीसाग पनि नेपाली क्रिकेटको विकास र प्रवद्र्धनका लागि पहल गर्ने गरेका छन् ।

नेपाली टिमले अन्तर्राष्ट्रिय प्रतियोगितामा पछिल्लो पटक गरेको उत्कृष्ट प्रदर्शनका कारण नेपाललाई राम्रा प्रतियोगिता आयोजनाको अवसर मिल्नेछ । तर त्यसका लागि देशमा आवश्यक भौतिक पूर्वाधार जोड्नुपर्ने हुन्छ । यसअघि विश्वकपलाई प्रमुख लक्ष्य बनाउादै त्यसैको रटान लगाएका पुबुदुले आफ्नो नयाँ कार्यकालमा भौतिक पूर्वाधार र घरेलु लिगलाई प्राथमिकतामा राखेका छन् ।

तर नाम चलेका एक खेलाडीकै बुझाईमा, ‘भौतिक पूर्वाधारका लागि सरकारबाट प्राप्त हुने रकममा हुने चलखेल पुबुदुकै कारण बन्द हुनसक्छ । त्यसैले उनलाई बिस्थापित गर्न खोजिएको हो ।’ नेपालमा घरेलु लिग नहुादा क्रिकेटको बढ्दो लोकप्रियता कतिन्जेल टिक्छ भन्ने प्रश्न तेर्सिएको छ ।

यस्तो परिस्थितिमा प्रशिक्षक पुबुदु भने आफ्ना योजनाहरु कार्यान्वयन गर्न सक्ने अवस्थामा मात्रै प्रशिक्षण सम्हाल्ने मनस्थितिमा छन् । उनले नेपाली टिमले टि–ट्वान्टी विश्वकप खेलेर फर्केपछि एयरपोर्टमै क्रिकेट संघको रवैयाबाट सन्तुष्ट नरहेको प्रतिक्रिया दिएका थिए ।

पुबुदुको योजना कार्यान्वयन हुनसके नेपाली क्रिकेटले पक्कै पनि नयाँ उचाई हात पार्नेछ । तर त्यसपछि नेपाली क्रिकेटको शक्तिकेन्द्रमा रहेका धेरै व्यक्ति अफ्टेरो अवस्थामा पुग्नसक्छन् । ।

त्यसैले यतिबेला पुबुदुको निरन्तरताको विषयले नेपाल क्रिकेट संघको जरो हल्लाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us