
काठमाण्डु, ३ जेठ – एकिकृत नेकपा माओवादीको विराटनगर सम्मेलनबाट केन्द्रीय समितिमा नबस्ने घोषणा गरेको भट्टराई पक्ष फर्किने भएको छ ।
केन्द्रीय समितिमा आफूले भनेजति सदस्य पाउने भएपछि सो पक्ष फर्कन लागेको हो ।
शनिबार केन्द्रीय समितिको बैठक बस्नु अघि प्रचण्ड र भट्टराईको प्रचण्ड निवास लाजिम्पाटमा भेटघाट भएको सुत्रले बताएको छ । यद्यपी कति सदस्य सङ्ख्या दिने भन्ने तोकिएको छैन ।
विराटनगर सम्मेलनमा प्रचण्डले घोषणा गरेको ९९ सदस्यको केन्द्रीय समितिमा भट्टराई पक्षका १५ जना नबस्ने भन्दै सम्मेलन नसकिदैं बाहिरिएका थिए ।
आजै वैद्यसँग पार्टी एकता गर्न वार्ता टोली गठन गर्ने विषयमा पनि छलफल भएको छ । सो वार्ता टोलीमा को–को रहने सैदान्तिक निर्णय नभए पनि प्रचण्डकै नेतृत्वमा हुन सक्ने स्रोतले बताएको छ । पछिल्लो समय दुई नेता नजिकिएका छन् । गत बिहिबार एक कार्यक्रममा प्रचण्डले वैद्यतर्फ इङगीत गर्दै आफू कार्यकर्ताको हैसियतमा रहेर नेतृत्व हस्तान्तरण गर्न तयार रहेको बताएका थिए ।
शनिबार बस्ने भनेको बैठकले केन्द्रीय कमिटीमा थप्ने सदस्य र कार्यविभाजनको विषयमा थप गृहकार्य गर्नका लागि बैठक स्थगित गरेको पार्टी प्रवक्ता अग्नी सापकोटाले जानकारी दिएका छन् । बैठक सोमबार सम्मको लागि स्थगित भएको छ ।