लुटपाट अभियोगमा नुवाकोटका तीन पक्राउ

काठमाण्डु टुडे २०७१ वैशाख २७ गते १२:०५ मा प्रकाशित

नुवाकोट, २७ वैशाख– वदेशी नागरिकलाई लुटपाट गरेको अभियोगमा काठमाण्डु प्रहरीले नुवाकोट तलाखु गाविसका तीन युवालाई पक्रेको छ ।
लुटपाट अभियोगमा पक्राउ पर्नेमा तलाखु–१ चिसापानीका अनिल तामाङ, विजय तामाङ र विन्दुराम तामाङलाई पक्राउ गरेको हो ।

उनीहरुमाथि काठमाण्डुको सुन्दरीजलस्थित लाङ्टाङ राष्ट्रिय निकुञ्जको जङ्गल क्षेत्र बोर्लङ भञ्ज्याङमा विभिन्न समयमा विदेशी पर्यटकलाई लुटपाट गरेको अभियोग छ । पक्राउ परेकाहरूले गएको फागुन १८ गते दुई अमेरिकी नागरिक र वैशाख ३ गते एक इजरायली नागरिकको साथबाट धनमाल लुटेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूले अमेरिकी नागरिकका साथबाट एक हजार अमेरिकी डलर, नेपाली  १४ हजार, क्यामेरा, राहदानी दुई थान र झोला एक थान लुटेको प्रहरीले जनाएको छ ।

यस्तै, इजरायली नागरिकबाट अमेरिकी डलर ५ सय, नेपाली रुपैयाँ १३ हजार, झोला, कपडा र महत्वपूर्ण कागजात लुटेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । घटनामा संलग्न अन्य केही व्यक्ति फरार रहेकाले उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

यसैबीच काठमाण्डु प्रहरीले नुवाकोट विदुर नगरपालिका–३ बट्टारका राम केसीलाई लागुऔषध सहित पक्राउ गरेको छ ।  लागुऔषध नियन्त्रण ब्युरोको टोलीले डाइजेपाम ४३ एम्पुल, बुप्रेनर्फिन ४३ थान र फेनरागन ४५ एम्पुलसहित पक्राउ गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us