
काठमाण्डु, ११ वैशाख – सरकारका प्रवक्ता डा मीनेन्द्र रिजालले विभिन्न मन्त्रालयमा छरिएका सूचना प्रविधिसँग सम्बन्धित नीति तथा नियमलाई एकीकृत गरेर नयाँ सूचना प्रविधि नीति ल्याइने बताएका छन् ।
सूचना तथा प्रविधिका क्षेत्रमा विकास र विस्तार भएका नवीनतम उपलब्धिका विषयमा जानकारी दिने उद्देश्यले आजदेखि सुरु भएको सातौँ ‘आइसिटी एक्स्पो’को उद्घाटनपछि सूचना तथा सञ्चारमन्त्री डा रिजालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, शिक्षा, विज्ञान, प्रविधि तथा वातावरण र सूचना तथा सञ्चार मन्त्रालयमा प्रविधिसम्बन्धी नीति छरिएकाले त्यसलाई केन्द्रित गरिने जानकारी दिए ।
यही वैशाख १५ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सञ्चालन हुने सो ‘एक्स्पो’मा सूचना प्रविधिसँग सम्बन्धित १०४ कक्ष छन् । एक्स्पोमा प्रोजेक्टर तथा डिजिटल बोर्ड, विभिन्न ब्रान्डका मोबाइल एवम् कम्प्युटर राखिएका छन् ।