प्रमुख तीन दलको बैठक सकारात्मक

काठमाण्डु टुडे २०७० चैत १२ गते ८:४४ मा प्रकाशित

three party_20110527062815काठमाण्डु, १२ चैत – प्रमुख तीन राजनीतिक दलहरु उच्च स्तरीय राजनीतिक समिति गठन सहितका समसामयिक राजनीतिक मुद्दामा सहमति नजिक पुगेका छन् ।

विगतका सहमतिको कार्यान्वयनका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको काँग्रेस, एमाले र एमाओवादीको बैठकले सहमतिका निर्णयमा भोलि टुंगो लगाउने निर्णय गरेको छ ।

प्रमुख तीन दलबीच विगतमा भएको चारबुँदे सहमति र सरकार गठनका बेला काँग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिको कार्यान्वयनका लागि छलफल सकारात्मक रुपमा अघि बढेको बताइएको छ ।

नेताहरूले संविधान निर्माण र निरन्तर संवाद तथा छलफलका लागि उच्चस्तरीय राजनीतिक समिति बनाउने र शान्ति प्रक्रियाका बाँकी मुद्दालाई तत्काल अघि बढाउने सहमति गरे पनि बुधबार समयको अभावका कारण निर्णयमा पुग्न नसकिएको बताएका छन् ।

बैठकमा शान्ति प्रक्रिया, संविधान निर्माण र सङ्क्रमणकालीन राजनीतिको व्यवस्थापनका सम्बन्धमा सौहाद्रपूर्ण छलफल भएको काँग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले जानकारी दिए ।

‘विगतमा भएका सहमतिको कार्यान्वयनका लागि प्रमुख तीन दलबीच सकारात्मक छलफल भयो,’ सिटौलाले भने, ‘संविधान सभाको निर्वाचनमा एमाओवादीले उठाएको प्रश्न सम्बोधन गर्न र हालै भएको मूल्यवृद्धिका सम्बन्धमा अध्ययन गर्न संसदीय छानबिन समिति बनाउने सहमति भएको छ र त्यसलाई विहीबार बिहान ८ बजे बस्ने बैठकले टुङ्गो लगाउने छ ।’

बैठकमा तत्काल संविधान निर्माण कार्यलाई अघि बढाउन संविधानसभाका संसदीय समितिलाई पूर्णता दिने, संवैधानिक परिषद् गठन गर्ने र राजदूत नियुक्त गर्ने लगायतका विषयमा समेत छलफल भएको बताइएको छ ।

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोग निर्माण गर्ने सम्बन्धमा सहमति भइसकेको जानकारी दिँदै एमाओवादी नेता पोष्टबहादुर बोगटीले बाहिर आएका सम्पूर्ण विषयमा सकारात्मक छलफल भएको बताए ।समयको अभावले बाँकी रहेका विषयमा विहीबार बस्ने बैठकले टुङ्गो लगाउने उनको भनाइ छ ।

बैठकमा तीनै दलका शीर्ष नेताहरुको उपस्थिति रहेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us