नेविसंघका नेता भन्छन्, ‘शुभरामले गुण्डागर्दी र रञ्जितले बेइज्जत गरे’

काठमाण्डु टुडे २०७० फागुन २७ गते ६:१० मा प्रकाशित

Ranjit karnकाठमाण्डु, २७ फागुन – ‘शुभराम गुण्डा नै हो, एसएलसी मात्रै पास । नक्कली प्रमाणपत्रको भरमा क्याम्पसमा राजनीति गर्दैछ, हुँदा-हुँदा नेविसंघको बेइज्जत समेत गरे ।’ नेविसंघका एक केन्द्रीय सदस्यको भनाइ हो यो ।

हतियारसहित पक्राउ परेपछि उत्पन्न अवस्थाले चिन्तित नेविसंघका धेरै नेता कार्यकर्ताको भनाइ यस्तै छ । शंकरदेव क्याम्पसका स्ववियू सभापति समेत रहेका शुभराम बस्नेत अहिले अनुसन्धानको क्रममा प्रहरीको थुनामा छन् ।

उनको रिहाईको माग गर्दै उपत्यकामा रहेका केही क्याम्पसमा तालावन्दी, नाराजुलुश र झडप समेत भएको छ । शुभरामको पक्षमा खुलेर सडकमा ओर्लिएका छन् नेविसंघका केन्द्रीय अध्यक्ष रञ्जित कर्ण पनि ।

कर्ण र बस्नेतको क्रियाकलापको खुलेर विरोध गरेका छन् केन्द्रीय सदस्य इन्दु शर्माले । शर्मा भन्छन्, ‘नेविसंघको इतिहासमा अहिलेसम्म यस्तो बेइज्जत भएको थिएन ।’

प्रदीप पौडले अध्यक्ष हुँदा बस्नेत शंकरदेवको स्ववियु सभापति भएका थिए ।

इन्दु शर्मा थप्छन्, ‘शुभरामको राजनीतिक छवि त्यति राम्रो हैन, उनमा शैक्षिक शुन्यता छ , रञ्जित बाहेक अरु कसैको साथ छैन् । उनी दोषी हुन् भने कारबाही हुनुपर्छ । रञ्जित कर्णले बस्नेतको पक्षमा बोल्नु भनेको नेविसंघको मात्रै हैन काँग्रेस र प्रजातन्त्रको उपहास हो । किनकी उनी संविधानसभाका सभासद समेत हुन्,’ शर्माले भने । शुभरामको पक्षमा नबोल्न र निर्देशन नदिन नेविसंघका नेताहरु पार्टी सभापति तथा प्रधानमन्त्री सुशील कोइरालासमक्ष पुगेका छन् ।

शुभराम र रञ्जित कर्णले गल्ती गर्दैछन् भनेर खुलेर बोल्न धेरै नेविसंघका कार्यकर्ता र नेता सक्दैनन् । उनीहरुलाई पनि हतियारकै शिकार भइने डर छ । नेविसंघको भावी अध्यक्षको दावी गर्ने एक नेता भन्छन्, ‘ रञ्जित कर्ण अहिलेसम्म चाँकडीले नै यहाँसम्म आएको हो ।’

उसलाई अहिलेसम्म निर्वाचित पद कस्तो हुन्छ थाहा छैन ।’ त्यसैले रमेश खरेलले अपराधीलाई कारबाही गर्न छुटाउन नहुने उनको तर्क छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us