महोत्तरीमा सडक फराकिलो पारिँदै

काठमाण्डु टुडे २०७० फागुन २१ गते ६:४९ मा प्रकाशित

गौशाला, २१ फागुन – महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा बुधबारदेखि सडक फराकिलो पार्ने अभियान सुरु भएको छ । ट्राफिक प्रहरी कार्यालय र जलेश्वर नगरपालिकाको पहलमा नगरपालिकाभित्र रहेको सडक फराकिलो पार्न लागि एको हो ।

ट्राफिक प्रहरी सहायक निरीक्षक रामकुमार यादवको अगुवाइ र जलेश्वर नगरपालिकाका निमित्त कार्यालय प्रमुख पवन झासँगको सहकार्यमा जलेश्वरको महेन्द्र चोकदेखि नगरपालिका चोकसम्म सडक अतिक्रमण गरी फुटपाथमा थापिएको फलफूल, तरकारी, किराना र अन्य खुद्रालगायतका पसल हटाइ सडक फराकिलो पार्ने अभियान सुरु गरिएको बताइएको छ ।

नगरभरि जथाभावी सडक मिचेर पसल थाप्दा दुर्घटना बढ्ने र सडकसमेत अतिक्रमण हुने क्रम बढ्दै गएको सन्दर्भमा सडक फराकिलो गर्ने अभियान नै सुरु गरिएको प्रसनि यादवले बताए ।

उनले जलेश्वरका सबै सडक पूर्णरुपमा अतिक्रमणरहित नबनुञ्जेल यो अभियान जारी रहने बताए । जथाभावी पसल थाप्नाले बजारको सौन्दर्य दिनप्रति दिन घट्दै गएको छ । पसलबाट निस्कने फोहरसमेत सडकमै फाल्ने गरिँदा पूरै नगर दुर्गन्धित बनेको छ । ट्राफिक प्रहरी र जलेश्वर नगरपालिकाको यस कार्यलाई स्थानीय बासिन्दाले सराहना गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us