यस्ती छन् उपसभामुख घर्ती

काठमाण्डु टुडे २०७० फागुन १७ गते ८:४९ मा प्रकाशित

DSC_5036रोल्पाको जंकोट गाविसमा ३४ वर्षअगाडि जन्मिएकी थिइन्, माओवादी नेतृ ओनसरी घर्ती । जनयुद्ध अवधिभर युद्ध मोर्चामा सक्रिय घर्ती संविधानसभा उपाध्यक्षमा चुनिएकी छिन् । माओवादी सेनाको पहिलो महिला बटालियन कमिसारसमेत बनेकी घर्ती एमाओवादीकी एकमात्र प्रत्यक्ष निर्वाचित महिला सभासद् हुन् । उनले आफ्ना भोगाइ यसरी सुनाइन् :

निम्नमध्यम किसान परिवारमा म ०३४ सालमा जन्मिएकी थिएँ । चार दिदी–बहिनीमध्ये माहिली हुँ । तीनजना दाजु हुनुहुन्छ । उतिवेला छोरीलाई पढाउने चलन थिएन । मेरो बुवा अलि शिक्षित हुनभएकाले मलाई स्कुल पठाउनुभयो । ३/४ कक्षा पढेपछि छोरीलाई स्कुलबाट निकाल्ने चलन थियो । कक्षा तीन उत्तीर्ण गरेपछि बुवाले स्कुल निकाल्न चाहनुभएको थियो । तर, संयोगले मैले स्कुल छोड्नुपरेन ।

कक्षा तीनमा पढ्दाताका स्कुलको वार्षिकोत्सवमा विभिन्न प्रतियोगिता आयोजना गरिएको थियो । छात्राहरूका ६ वटा खेलमा म प्रथम भएँ । कक्षा तीनमा पनि दोस्रो भएँ । र, एकसाथ सातवटा पुरस्कार लिएँ । त्यसपछि मलाई स्कुलबाट ननिकाल्न बुवामाथि दबाब पर्‍यो ।

गाउँमा प्राथमिक तहमात्रै थियो । छिमेकी गाविस कोटगाउँमा रहेको निमावि पुग्न एकघन्टा हिँड्नुपथ्र्यो । स्कुल जानुअगाडि एकभारी घाँस वा एकरांगे स्याउला ल्याउनुपथ्र्यो । घरका अरू काम पनि गर्नुपथ्र्यो । माध्यमिक तह पढ्न सदरमुकाम लिबाङ पुग्नुपथ्र्यो । कृष्णबहादुर महरा स्कुलमा पढाउनुहुन्थ्यो । उहाँ मेरो सबैभन्दा मनपर्ने शिक्षक हुनुहुन्थ्यो । उहाँको अध्यापन कलाको सबैले तारिफ गर्थे । तर, उहाँ ०४८ को निर्वाचनमा उम्मेदवार बन्नुभएपछि उहाँसँग जम्मा दुई महिनामात्रै पढ्ने अवसर मिल्यो । झक्कुप्रासद सुवेदी पनि स्कुलको राम्रो शिक्षकमा गनिनुहुन्थ्यो । नेपाली पढाउनुहुन्थ्यो । उहाँ पनि जिल्ला सभापति बन्नुभएपछि पढाउन छोड्नुभयो । प्युठानका विष्णु त्यागी, मधुसुदन पोखरेल पनि राम्रो शिक्षक हुनुहुन्थ्यो ।

हेप्नेलाई भकुरेँ

मलाई मातृभाषा बोल्न सजिलो लाग्थ्यो । कक्षा आठमा लिबाङमा भर्ना हुँदा राम्रोसित नेपाली बोल्न जान्दिनथेँ । यसैकारण मलाई अरूहरूले गिज्याउने गर्थे । मेरो जातलाई पनि होच्याउने गर्थे । ठूलो जातीय विभेद थियो त्यतिवेला । गाउँबाट आएकालाई पाखे, टिमुर गनाउने, गवार भन्थे । अघिल्लो बेन्चमा बस्न दिँदैनथे ।

स्कुल गएको चार महिना पुग्दा पनि पहिलो बेन्चमा बस्न पाइनँ । जहिले पनि लास्टमै बस्नुपर्ने । अघिल्लो बेन्चमा सफाचट भएका, बजारिया बस्थे । गफ गर्थे । पछाडि भएकाले हामी शिक्षकले पढाएको सुन्दैनथ्यौँ । मैले कसैगरी पनि अघिल्लो बेन्चमा बस्ने निधो गरेँ । पछाडि नै बसिरहँे भने फेल हुन्छुजस्तो लाग्यो । एकदिन बिहानै स्कुल गएँ र अघिल्लो बेन्चमा किताब राखेँ । पछिल्लो बेन्चमा गएर बसेँ । अघिल्लो बेन्चमा बस्नेहरू एकछिनपछि आए र मेरो किताब देखेपछि भन्न थाले, ‘यो टिमुर गनाउनेले आज पहिलो बेन्चमै आएर किताब राखिछे ।’ अनि मेरो किताब भुइँमा फालिदिए । म रिसले आगो भएँ र झम्टिएँ । किताब फयाक्नेलाई बेस्कन कुटेँ । यसो गरेपछि मलाई पहिलो बेन्चमा बस्न नदिने आँट कसैले गर्न सकेन । ठूलो सफलता हासिल गरेजस्तो लाग्यो । पढाइ पनि राम्रो हुँदै गयो । त्यहीँबाट एसएलसी पास गरेँ । ०५२ मा पहिलोपटक लिबाङमा प्लस टु सुरु भएको थियो । म भर्ना भएँ । तर पार्टीले युद्धमा लाग्ने निर्देशन दिएपछि पढाइ छोडेँ ।

क्लबबाट राजनीतिमा

०४६ को आन्दोलनले हाम्रो गाउँलाई पनि छोएको थियो । कम्युनिस्ट संगठन भूमिगत थिए । हाम्रा गाउँमा पनि कम्युनिस्ट रहेछन् । उनीहरूले एउटा क्लब बनाएछन्, जलजला युवा क्लब । नौलो घर्ती, नवल घर्ती, वर्षमान पुन हुनुहुँदो रहेछ, क्लबको योजनाकार । उहाँहरू कम्युनिस्ट पार्टीको बनिसक्नुभएको रहेछ । माडी जलजला युवा क्लबको नाममा अहिले पनि त्यो क्लबले काम गरिरहेको छ । क्लबमा म पनि आबद्ध भएँ । नाच्न–गाउन थाल्यौँ । नाचगानमा मेरो विशेष रुचि थियो । क्लबमा पुस्तकालय थियो । क्रान्तिकारी किताब राखिएका थिए । माकुरा र झिँगा, सात काँटी सलाई, रातो चम्किलो ताराजस्ता क्रान्तिकारी किताब त्यहीँ पढेकी हुँ । थाहै नपाईकन हामी कम्युनिस्ट भइसकेका रहेछौँ । लिबाङमा पढ्दादेखि भने म राजनीतिमा सक्रिय भएँ । अखिलको सहकमिटीमा आबद्ध भएँ । मूल कमिटी हुँदै जिल्ला कमिटीमा पुगेँ । कक्षा ९ मा पढ्दा कांग्रेसको सरकार बन्यो । हामीमाथि दमन सुरु भयो । प्रहरीले मलाई तीनपटक हिरासतमा पुर्‍यायो ।

हलो जोतेँ

८/९ वर्ष हुँदा माइला दाइलाई ज्यानमाराको अभियोगमा मुद्दा लाग्यो । माघी मेला लाग्थ्यो त्यतिवेला । मेलामा रक्सीले मातेको एउटा मानिस खोलामा बगेर मरेछ । पोस्टमार्टम रिपोर्टमा खोलामा पानी खाएर मरेको भनिएको थियो । दाइ कम्युनिस्ट सदस्य भइसक्नुभएको रहेछ । कम्युनिस्ट भएकै कारण उहाँसहित अर्को एकजनालाई हत्याको निम्ति जिम्मेवार ठहर्‍याइयो । झुटा मुद्दा लगाएर उहाँहरूलाई पक्राउ गरियो । पैसा खुवाए दाइलाई छुटाउन सकिने रहेछ । उहाँसँगै जेल परेको व्यक्ति घुस खुवाएर तत्काल छुट्यो । घुस खुवाएर निक्लिन दाइ मान्नुभएन । ‘मैले कुनै अपराध गरेको छैन, एक दिन न्याय पाउनेछु तर घुस खुवाउनुपर्दैन,’ उहाँले भन्नुभएको थियो । तर, उहाँले न्याय पाउने दिन कहिल्यै आएन । १८ महिनापछि न्यायाधीशलाई ९० हजार रुपैयाँ बुझाएपछि उहाँ छुट्नुभयो । दोषी भए किन छाड्ने ? निर्दाेष भए किन थुन्ने ? त्यसपछि न्यायालय पनि सब नाटक रहेछ भन्ने मलाई लाग्यो ।

घर खरले छाउनु पथ्र्यो । ‘छोरो भएको भए मसँगै घर छाउँथ्यो,’ मेरै अगाडि बुबाले यस्तो गनगन गर्नुहुन्थ्यो । ‘छोरा भएर जन्मिएकी भए जोत्न जाने उमेर भइसक्थ्यो,’ मलाई हेरेर यस्तो भनिरहनुहुन्थ्यो । एकदिन मैले संकल्प गरेँ– अब घर छाउने र जोत्ने काम पनि गर्छु । तर, बुबाले मान्नुभएन । तर, मैले घर छाउने काम गरेरै छोडेँ । घरको धुरी चढँे । छोरी मान्छे घरको धुरी चढ्नुहुन्न भन्ने मान्यता थियो, त्यतिवेला । पहिलोपटक हलो जोत्दा ९ वर्षकी थिएँ । मअघि गाउँका कुनै महिलाले हलो जोतेका थिएनन् । थुप्रै आलोचना खेप्नुपर्‍यो । पश्चिमतिरका मान्छे हाम्रो गाउँ हुँदै लिबाङ जाने गर्थे । मैले जोत्दै गरेको उनीहरूले देखेछन् । भन्न थाले, ‘केटीले हलो जोतेको देख्नुपर्‍यो । धर्मको नाश हुनेभयो ।’ मलाई रिस उठ्यो । मैले बारीमा भएको माटोको डल्लाले हान्दै तिनीहरूलाई लखेटँे । त्यही घटनापछि मैले छोरा र छोरीबीचको विभेद महसुस गरेँ । र, ममा विद्रोही चेतना पलायो ।

अनन्तसँग जनवादी बिहे

वर्षमान पुन ‘अनन्त’सँग प्रेममा परेकी थिएँ । त्यतिवेला म नेतृ पनि भइसकेकी थिएँ । विद्यार्थी, महिला र वाइसिएलको जिल्ला सदस्य । लडाकु दलको सदस्य पनि । आजभन्दा २५ वर्ष अगाडि ममा विवाह गर्दिनँ भन्ने सोच थियो । पार्टीले युद्धमा जाने निर्णय गर्‍यो । हामी दुवै युद्धमा सरिक हुने भयौँ । पार्टीका नेताले ‘यदि तपाईंहरूको प्रेम सम्बन्ध छ भने विवाह गर्नुपर्‍यो । हामी युद्धमा जाने भयौँ,’ भन्नुभयो ।

०५२ फागुन ११ गते जंकोटमा पार्टीको प्रशिक्षण थियो, जनयुद्धअघिको अन्तिम प्रशिक्षण । त्यहीँ हाम्रो बिहे हुने भयो । प्रशिक्षणमा सहभागी नेता, कार्यकर्ता र हाम्रा केही आफन्त प्रशिक्षणस्थलमा हुनुहुन्थ्यो । बिहे गर्‍यौँ । हामीसहित तारा घर्ती र कुलप्रसाद केसी, रणबहादुर केसी तथा आशा पुन गरी तीन जोडीको विवाह भयो । हाम्रो जिल्लामा भएको त्यो पहिलो सामूहिक जनवादी बिहे थियो । क्षणभरमै बिहे सकियो ।

०५२ मा पार्टीको पाँच नम्बर एरिया सदस्य थिएँ । जंकोट, ह्वामा, कोर्चाबाङ र भाबाङ हाम्रो एरियाअन्तर्गत थियो । एउटा एक्सन हुन्छ भन्ने जानकारी थियो । त्यसैको तयारी भनेर बम, पेस्तोल, बन्दुक, लट्ठी चलाउने तालिम दिइएको थियो । मेरो मामा जुडोको गुरु भएकाले मैले हल्का जुडो पनि सिकेकी थिएँ ।

पछिमात्र थाहा भयो, ०५२ फागुन १ गते होलेरी इप्रकामाथि आक्रमण गर्ने र जनयुद्धको घोषणा गर्ने पार्टीको योजना रहेछ । तीन दिनअगाडि हामीलाई बोलाइयो । घरमा ‘कार्यक्रममा जाँदै छौँ केही दिन ढिला आउँछौँ’ भनेका थियौँ । हामी अर्धभूमिगत भइसकेका थियौँ । सामान्य ड्राइफुड तयार गरेर घरबाट निस्कियौँ । भूमिगत ‘सेल्टर’ लिँदै होलेरीतिर लाग्यौँ । दोस्रो दिनको सेल्टरमा राइफल चलाउने तालिम सिकाइयो । ‘होलटाइमर राइफल’ चलाउन सिक्यौँ । मुख्य हतियार त्यही थियो । ३६ जनाको हाम्रो टोली थियो । महिला म र तारा घर्तीमात्रै थियौँ । अनन्त कमान्डर र नन्दकिशोर पुन पासाङ सह–कमान्डर हुनुहुन्थ्यो । हाम्रो टोली कमान्डर जवरसिंह घर्ती हुनुहुन्थ्यो । आक्रमण सुरु भयो । मैले सिसा बम प्रहार गरेँ । मसँग दुईवटा बम थिए । एउटा जवरसिंह दाइले हान्नुभयो । हामीतिर निकै गोली प्रहार गरे, प्रहरीले । ‘जनयुद्ध जिन्दावाद’को नारा लगाएर हामी फर्कियौँ ।

पहिल्यै पड्काएको थिएँ बन्दुक

महिलाले छोएको बन्दुक पड्कँदैन भन्ने मान्यता थियो, गाउँघरतिर । मलाई कहाँ पाउँm र पड्काऊँ भन्ने लागिरहेको थियो । जनयुद्धको लागि अन्तिम प्रशिक्षण थियो । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत शीर्ष नेता रोल्पामै हुनुहुन्थ्यो । प्रशिक्षणमा सहभागी हुने मेरो पार्टी हैसियत बनेको थिएन । लडाकु दलको सदस्य भएकाले सुरक्षामा खटिएँ । एउटा पेस्तोल दिइएको थियो । त्यो पनि जबरजस्ती मागेपछि । महिलालाई यस्ता हतियार दिन अनकनाउने गर्थें । मैले ‘या सुरक्षामा नराख्नुस्, होइन भने दिनुस्’ भनेपछि बल्ल दिएका थिए । अक्ष्यक्षलगायत नेतालाई बिदा गर्दा बन्दुक पड्काउने कुरा भयो । सबै पुरुष कमरेडले बन्दुक हातमा लिनुभयो । ‘मैले पनि पड्काउन पाउनुपर्छ’ भनँे । साथीहरूलाई कन्भिस गराएँ । मसहित तीनजना महिलाले बन्दुक समाउँदा सबै गलल हाँसे । बन्दुक बोकेर हिँड्दा पनि हाँसिनै रहेका थिए । हामी तीनैजनाले पड्कायौँ । ताराको हातको बन्दुक पड्किएन । चिसोमा परेको रहेछ । गीता विक र मैले मजाले पड्कायौँ । रोल्पामा महिलाले बन्दुक पड्काएको सम्भवत: त्यो पहिलो घटना थियो ।

आमा बनेँ

मेरो रुचि छापामार बन्ने थियो । प्लाटुन फर्मेसनमा सहभागी भएँ । दुई वर्षसम्म फर्मेसनमा काम गरेँ । त्यसपछि पार्टीले संगठनको काममा फर्कायो । पार्टीको महिला संघको जिल्ला अध्यक्ष बनेँ । पार्टी एरिया इन्चार्ज पनि थिएँ । जिल्लाका फौजी कारबाही भने कुनै छुटाइनँ । सेना नै नेता, नेता नै सेना भन्ने मान्यता थियो ।

फौजी कारबाहीमा सहभागी भइरहेकी थिएँ । पेटमा सात महिनाको बच्चा थियो । असहज लाग्दैनथ्यो । मेरो इन्चार्जसिपमा रहेको घर्तीगाउँको आधा हिस्सा, ओत, जिनाबाङ, पाखापानी गाविस थिए । मेरो क्षेत्रबाट ११ जनाले सहादत पाइसकेका थिए । त्यसले मलाई ठूलो पीडा दिएको थियो । मैले पाखापानी चौकीमाथि हमला गर्नुपर्छ भन्ने प्रस्ताव पार्टीमा राखेकी थिएँ । त्यहाँका प्रहरीले कामरेड गंगा केसीलाई बलात्कारपछि हत्या गरेका थिए । आक्रमणको योजना बन्यो । सर्भेको लागि म आफैँ गएँ । सर्भे सकिएकै दिन हामी प्रहरी घेरामा पर्‍यौँ । हामी भाग्यौँ । छहराबाट हाम फाल्यौँ । आक्रमणका लागि तयार पारिएको नक्सा प्रहरी कब्जामा पर्‍यो । त्यसको ११ दिनपछि सात महिनामै छोरी जन्मिई । छोरी ४/५ महिनाकी थिई । घर्तीगाउँ प्रहरी चौकीमाथि आक्रमण गर्नुपर्ने भयो । म छोरीलाई लिएरै आक्रमणमा सहभागी भएँ ।

 
पहिलो महिला बटालियन कमिसार

बालख छोरीलाई घरमा छोडेर फौजी काममा फर्किन पार्टीसमक्ष प्रस्ताव राखेँे । पूर्वमा सेनाको त्यति विकास भएको थिएन । ०५९ सालको कुरा हो यो । सेनाको जिम्मा लिने भए पूर्व जानुपर्ने भयो । म तयार भएँ । त्यो वेलामा पार्टी केन्द्रीय सदस्यले मात्र बटालियन कमिसार हुन पाउँथ्यो । केन्द्रीय सदस्य नभए पनि कमिसारको जिम्मेवारी निभाउने क्षमता छ भनेर पार्टीमा कुरा राखेँ । यसमा पार्टी सहमत भयो । महिलाले कम्पनी कमान्डर र कमिसारको जिम्मेवारी सम्हालेका भए पनि त्यसवेलासम्म बटालियन कमिसारमा कुनै महिला थिएनन् ।

०५९ मा पार्टीको केन्द्रीय समितिमा चुनिएँ । पुरुषको तुलनामा महिलालाई पार्टीले बढी अवसर दिएको थियो । मभन्दा वरिष्ठ पुरुष साथी हुँदाहुँदै पनि पार्टीले मलाई केन्द्रीय सदस्य बनायो । म त्यो वेलामा २५ वर्षकी थिएँ । कमिसारको जिम्मेवारी एक वर्ष निभाएँ ।

सिलुचुङ हुँदै उपत्यका

सोलुखुम्बुको सम्पूर्ण भू–भाग तथा भोजपुर, रामेछाप, ओखलढुंगा र दोलखाको माथिल्लो भागलाई पार्टीले ‘सिलुचुङ आधार क्षेत्र’ नाम दिएको थियो । त्यसको इन्चार्ज बनेँ म । जनआन्दोलन हुँदा म काभ्रे र रामेछापको इन्चार्ज थिएँ । ०६१ को अन्तिममा उपत्यकाआसपास आएका थियौँ, अनन्तको नेतृत्वमा । यहाँका अधिकांश कमरेड गिरफ्तार परेपछि हामी आएका थियौँ । सेना र संगठन दुवैको काम गथ्र्यो । मेरो मुख्य जिम्मेवारी संगठनमा थियो । तर पनि थुप्रै फौजी कारबाहीमा सहभागी भएँ । अन्तिम लडाइँ सिन्धुपाल्चोकको चौतारामा भयो । त्यहाँ पनि सहभागी भएँ । जनआन्दोलनको वेला उपत्यकावरिपरिको काँठ क्षेत्रसम्म आइपुग्यौँ ।

पहिलो संविधानसभामा समानुपातिकबाट सभासद् चुनिएँ । छोटो अवधिका लागि युवा तथा खेलकुद मन्त्री बने । ३/४ वर्षदेखि राष्ट्रिय रूपमा खेलकुद भएको थिएन । विभिन्न बहानामा रोकिएका थिए । मैले त्यो बाधा फुकाइदिएँ । र, छैटौँ राष्ट्रिय खेलकुद सुदूरपश्चिममा पुर्‍याइदिएँ ।

महिलालाई चुनाव गाह्रो

रोल्पाबाट लैंगिक समानताको आवाज प्रखर रूपमा मुखरित भएको थियो जनयुद्धकालमा । दोस्रो संविधानसभाको निर्वाचनमा रोल्पाका जनताले मलाई जिताएर नारीपुरुष समानताप्रतिको आफ्नो प्रतिबद्धता व्यक्त गरे । यसका लागि म रोल्पाली जनतालाई धन्यवाद दिन चाहन्छु । आज पनि पार्टीको आधार क्षेत्र हो ।
चुनाव प्रणाली सुधार नगरेसम्म महिलाले प्रतिस्पर्धामार्फत चुनाव जित्न अत्यन्तै गाह्रो छ । जतिसुकै पढेलेखेका विद्वान्, सहरका हुनेखाले महिला पनि प्रतिस्पर्धा गरेर आउनसक्ने वातावरण छैन । म प्रतिस्पर्धाकै पक्षमा छु । केही महिलाले प्रतिसपर्धा गर्न सक्लान् । तर, आम महिला प्रतिस्पर्धामा उत्रिने अवस्थामा छैनन् । महिलाको विकासका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक छ । हाम्रो समाज पितृसत्तात्मक छ ।

अहिले म संविधानसभाको उपाध्यक्ष बनेको छु । चुनौती र अवसरको चाङ मेरो अगाडि तेर्सिएको छ । संविधान निर्माणमा मबाट हरसम्भव प्रयास हुनेछ । काँधमा आइलागेको जिम्मेवारीप्रति म गम्भीर छु ।

नेपाली समाजमा अझै पितृसत्तात्मक सामन्तवादी सोच छ । हाम्रो समाज महिलामैत्री छैन । महिलाले केही गर्न सक्दैनन् भन्ने मानसिकता छ । अनन्तको पत्नी भएकाले मैले पार्टी र देशको राजनीतिमा हैसियत बनाएको कतिपयले बताउने गरेका छन् । तर, म मेरो क्षमता र सक्रियताकै कारण आजको अवस्थासम्म आइपुगेकी हुँ । अनन्तसँग बिहे गर्दा म नेता भइसकेकी थिएँ । युद्धका धेरै समय अलग बस्यौँ । शान्तिप्रक्रियामा आएपछि अधिकांश समयसँगै बस्न पाइयो । युद्धताका महिनौँसम्म हाम्रो भेट हुँदैनथ्यो । फोनमार्फत सम्पर्क गर्न सकिँदैनथ्यो । चिठी पुग्न ४/५ महिना लाग्थ्यो ।

–  नयाँ पत्रिका दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us