किन हरेक क्याबिनेटमा टुट्दैनन् नुवाकोटका मन्त्री ?

काठमाण्डु टुडे २०७० फागुन १३ गते १३:५३ मा प्रकाशित

Mahendra-ramsharanकाठमाण्डु, १३ फागुन – राजधानीसँग जोडिएको नुवाकोट यस्तो जिल्ला हो जसले हरेक क्याबिनेटमा एक न एक मन्त्री पाएकै हुन्छ ।

पञ्चायत कालदेखि पटक–पटक मन्त्री बनेका प्रकाशचन्द्र लोहनी हुन् अथवा एमाओवादीका हितबहादुर तामाङ । हरेकपटक कुनै न कुनै नुवाकोटे नेताले मन्त्री बन्ने सौभाग्य पाएकै हुन्छन् ।

२०६२÷०६३ को परिवर्तन पछिको समयलाई नियाल्ने हो भने जति पटक सरकार परिवर्तन भएपनि नुवाकोटबाट मन्त्री टुटेको छैन । यो क्रमले सुशील कोइराला नेतृत्वको वर्तमान क्याविनेटमा पनि निरन्तरता पाएको छ ।

यसपटक नुवाकोटबाट दुईजना मन्त्री बनेका छन् । काँग्रेसका तर्फबाट डा. रामशरण महतले अर्थ र नेकपा एमालेका महेन्द्र पाण्डेले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

महत २०४७ सालको परिवर्तन पछि धेरै पटक मन्त्री बनिसकेका नेता हुन् भने पाण्डे नयाँ अनुहार । नुवाकोटमा महेन्द्र सरका नाममा चिनिने पाण्डे एमालेका पोलिटब्यूरो सदस्य हुन् । लामो समय प्राध्यापन पेशामा रहेका पाण्डे एमाले नेता केपी शर्मा ओलीका निकट मानिन्छन् ।

२०५६ सालको निर्वाचनमा नुवाकोट ३ बाट निर्वाचित पाण्डे काँग्रेस नेता अर्जुननरसिंह केसी हराएकाले निकै चर्चामा रहे । माओवादी शान्ति प्रक्रियामा आएपछि पुनस्र्थापित व्यवस्थापिका संसदमा उनी एमालेका सचेतक थिए ।

यससँगै नुवाकोटे मन्त्रीहरुको सूचीमा उनको नाम पनि थपिएको छ । यसअघि नुवाकोटबाट लोहनी र महतका अलावा, पोष्टबहादुर बोगटी, अर्जुननरसिंह केसी, प्रकाशशरण महत, डिबी लामा र हितबहादुर तामाङ मन्त्री बनिसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us