दुई छोरा विदेशमा गुमाएका बाबु भन्छन्, ‘स्वदेशमै केही गरे जिन्दगी चल्छ’

काठमाण्डु टुडे २०७० फागुन ११ गते ६:१९ मा प्रकाशित

नुवाकोट, फागुन– धन कमाएर घरपरिवारलाई सुखी बनाउने सपना बोकेर विदेश गएका दुई छोराको उतै निधन भएपछि नुवाकोट थानसिङ–२ गाईचौरका गणेशबहादुर नेपालीको परिवार शोकमा डुबेको छ ।

मजदुरी गर्न कतार गएका गणेशका जेठो छोरा ३५ वर्षीय राजु नेपालीको गत माघ २१ गते मृत्यु भएको हो । माहिला छोरा २३ वर्षीय रामकुमारको चार वर्षअघि मलेसियामा ज्यान गएको घाउमा खाटा नबस्दै अहिले जेठाको पनि वैदेशिक रोजगारीकै क्रममा ज्यान गएपछि नेपाली परिवार शोकाकुल भएको हो ।

दुई छोराको वैदेशिक रोजगारीमा ज्यान गएपछि गहिरो पीडामा परेका गणेशबहादुरले विदेशको रोजगारीप्रति घृणा गर्दै भने, ‘स्वदेशमै केही गरे जिन्दगी चल्छ भनेको छोराहरूले मानेनन् अहिले यस्तो भोग्नु पर्‍यो ।’

राजु गत मंसिर २७ गते प्यासिफिक ह्युमेन रिसोर्स प्रालि नामक मेनपावरमार्फत वैदेशिक रोजगारीमा गएका थिए । गएको दुई महिना पनि नबित्दै राजु सदाका लागि आासु बनेर बाकसमा प्याक भएर नेपाल फर्किए । राजुको मृत्यु निमोनियापछि हृदयघातका कारण भएको भनी त्यहाको अस्पतालको रिपोर्टमा उल्लेख छ । मृत्यु भएको १२ दिनपछि फागुन २ गते राजुको शव नेपाल आइपुगेको थियो ।

घरको कमजोर आर्थिक अवस्थालाई सुधार्न वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेको छोटो समयमा नै छोराको दाहसंस्कार र काजकिरिया गर्नुपर्दाको पीडाले यतिखेर नेपालीको परिवार र आफन्त विक्षिप्त भएका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us