युक्रेनका राष्ट्रपतिले देश छोडेको विपक्षीको दावी

काठमाण्डु टुडे २०७० फागुन १० गते ११:२६ मा प्रकाशित

किभ, १० फागुन – युक्रेनका राष्ट्रपतिले देश छोडेको त्यहाँका विपक्षीहरुले जनाएका छन् । तर यस समाचारको स्वतन्त्र पुष्टि भने हुन सकिरहेको छैन ।

युक्रेनका राष्ट्रपतिभिक्टर यानुकोभिचले देश छोडेको समाचार त्यहाँको विपक्षीहरुका नेता भिताली क्लिच्कोलाई उद्धृत गर्दै शनिबार युक्रेनका सञ्चारमाध्यमहरुले दिएका छन् ।

युक्रेनमा यस हप्ता जारी रहेको हिंसाको बीचमा उहाँले देश छोडेको समाचार आएको समाचारमा जनाइएको छ । विपक्षी नेता भिताली क्लिच्कोले युक्रेनमा जारी रहेको संसद बैठकमा शनिबार सम्बोधन गर्दै भने, ‘राष्ट्रपतिले राजधानी छोड्नुभएको छ, र अब छिट्टै नै त्यहाँ राष्ट्रपतिको निर्वाचन गर्नुपर्दछ ।’

यसअघि भएको सहमति बमोजिम आगामी मे महिनाको २५ तारिखमा राष्ट्रपतिको निर्वाचन हुनुपर्ने उनको माग छ । युक्रेनमा विगत एक सातादेखि हिंसा जारी रहेको छ । सो हिंसाको क्रममा कम्तीमा पनि १०० जनाको ज्यान गइसकेको छ ।

सो हिंसा अन्त्यका लागि शुक्रबारमात्र अमेरिकी राष्ट्रपति बाराक ओबामा र रसियाली राष्ट्रपतिबीच फोन वार्ता भएको थियो । शुक्रबार मात्र युक्रेन र विपक्षीहरुका बीचमा अर्को सहमतिको सरकार निर्माणका लागि सम्झौता भएको बताइएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us