तलब नपाएपछि प्रधानाध्यापक नै वैदेशिक रोजगारीमा हिँडे

काठमाण्डु टुडे २०७० फागुन ३ गते ९:२८ मा प्रकाशित

कञ्चनपुर, फागुन– कञ्चननपुरको भीमदत्त नगरपालिका तिलकेनीस्थित विष्णु मन्दिर प्राथमिक विद्यालयका प्रधानाध्यापक वीरबहादुर कोली तलब नपाएपछि वैदेशिक रोजगारीमा हिँडेका छन् ।

एक दशकदेखि आफूले पढाउँदै आएको विद्यालयले प्रध्यानाध्यापक कोलीलाई तलबको व्यवस्था गर्न नसक्दा उनी मलेसियामा रोजगारीका लागि हिँडेका हुन् ।

विद्यालयको आन्तरिक स्रोत नभएपछि कोलीले गएको ९ महिनादेखि तलब पाउन सकेका थिएनन् । मासिक पाँच हजार रुपैयाँ तलब पाउने गरी उनी विद्यालयमा नियुक्त गरिएका थिए ।

कोली परिवारले गाउँका विद्यार्थीलाई घर नजिक पढाउन स्थानीय जनताले दान गरेको जग्गामा विद्यालय स्थापना गरेको थियो ।

व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर कोलीले स्रोत जुटाउन नसक्ने अवस्था आएपछि कोलीलाई वैदेशिक रोजगारीमा जानबाट रोक्न नसकिएको बताए ।

‘लामो समयदेखि कार्यरत प्रधानाध्यापक विदेश जाँदा लज्जास्पद भएका छौँ,’ अध्यक्ष कोलीले भने, ‘स्रोत नै नभएपछि रोक्न सकेनौँ ।’

विद्यालयका लागि स्रोत जुटाउन सरकारी तथा गैरसरकारी निकायमा पटकपटक धाउँदा पनि सहयोग पाउन नसकेको उनले बताए । पढाइमा मेहनेती र शिक्षक विद्यार्थी सबैलाई मिलाउन सक्ने व्यवहारका कारण उच्च माध्यमिक शिक्षा अध्ययन गर्दै गर्दा कोलीले प्रधानाध्यापकको जिम्मेवारी पाएका थिए ।

राहत कोटामा कार्यरत शिक्षिकाको तलबबाट कोलीलाई तलब दिइँदै आएको भएपनि शिक्षिकाले आफ्नो तलबबाट रकम दिन नमानेपछि प्रअ कोलीले तलब थाप्न पाएका थिएनन् ।

विद्यालयमा अधिकांश दलित समुदायका विद्यार्थी अध्ययन गर्ने भएकाले अभिभावकबाट आर्थिक सहयोग जुटाउन नसकिएको अध्यक्ष कोलीको भनाइ छ ।

प्रधानाअध्यापक वैदेशिक रोजगारीमा लागेपछि बैकल्पिक रुपमा विद्यालयकै अर्का शिक्षकलाई प्रअको जिम्मेवारी दिइएको छ । विद्यालयमा ७० विद्यार्थी अध्ययनरत छन । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us