संसदीय दलको उपनेता बन्ने प्रस्ताव भट्टराईद्धारा अस्वीकार

काठमाण्डु टुडे २०७० फागुन २ गते १२:२१ मा प्रकाशित

Baburamकाठमाण्डु, २ फागुन – एकीकृत माओवादीका नेता डा बाबुराम भट्टराईले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदीय दलको उपनेता बन्न गरेको प्रस्ताव अस्वीकार गरेका छन् । प्रचण्ड संसदीय दलको नेता चयन भएसँग उनले नेता भट्टराईलाई उपनेता बन्न प्रस्ताव गरेका थिए ।

अघिल्लो संविधानसभामा पनि उपनेता रहेका भट्टराईलाई यसपटक पनि उक्त पद लिन प्रचण्डले प्रस्ताव गरेपनि भट्टराईले अस्वीकार गरेको एमाओवादी स्रोतले जनाएको छ ।

‘प्रचण्डले भट्टराईलाई बुधबार र विहीबार पनि संसदीय दलको उपनेता बन्ने प्रस्ताव गर्नुभएको थियो,’ एमाओवादी स्रोतले भन्यो, ‘तर उहाँले आफू एक वर्षसम्म कुनै पनि पदमा नबस्ने बरु आफ्नो साटो नेता टोपबहादुर रायमाझीलाई उपनेता बनाउने प्रस्ताव गर्नुभयो ।’

यद्यपि भट्टराईको प्रस्तावप्रति प्रचण्ड सकारात्मक नरहेको स्रोतको दावी छ ।

एमाओवादीको गएको केन्द्रीय समिति बैठकले अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको थियो । बैठक अघि पार्टीभित्र पद बाँडफाँट हुनुपर्ने प्रस्ताव गर्दै आएका भट्टराईले बैठकपछि भने एकवर्षसम्म आफू कुनै पनि पदमा नबस्ने बताउँदै आएका छन् ।

दोस्रो पुस्ताका नेतालाई संसदीय दलको नेता बनाउने प्रचण्डको ईच्छा भएपनि सहमति नहुने भएपछि प्रचण्ड आफैं दलको नेता भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us