बर्दिया, २ फागुन – लालपुर्जा बदर गरी नयाँ लालपुर्जा दिने लोभमा मुक्तकमैयाबाट प्रतिव्यक्ति रु दुई हजारको दरले रकम असुली गरेको खुल्नमा आएको छ ।
रजवारा गाउँ निवासी जितबहादुर थारु र ज्ञानबहादुर थारुले आफूहरुलाई लालपुर्जा नयाँ बनाइदिने लोभ देखाउँदै ठगी गरेको आरोप मुक्तकमैयाले लगाएका छन् ।
‘तिमीहरुको लालपुर्जा नक्कली हो, नयाँ लालपुर्जा बनाउनुपर्छ, कित्ताकाटका लागि पनि पैसा चाहिन्छ,’ भन्दै प्रतिव्यक्ति पैसा असुली गरेको आरोपमा उनीहरुलाई कारबाहीको माग गरिएको छ ।
नेपाल मुक्त कमैया शिक्षा तथा गरिबी निवारण कार्यक्रम निगरानी सञ्चालन समिति परिचालन तथा अनुगमनका क्रममा सूर्यपटुवा गाविस–९ रजवारा गाउँमा मुक्तकमैयाको नाममा लालपुर्जा नयाँ बनाइदिने लोभमा पैसा उठाएको खुलेको हो ।
अभियुक्तले पुरानो लालपुर्जा बदर गरी नयाँ लालपुर्जा बनाउने उद्देश्यले मुक्तकमैयालाई झुक्याउने उद्देश्यले पैसा उठाएको स्विकारेका छन् ।