एमाओवादीले सभासदबाट मासिक १२ हजार लेबी उठाउने

काठमाण्डु टुडे २०७० फागुन २ गते ६:१२ मा प्रकाशित

maoist-flagकाठमाण्डु, २ फागुन – एकीकृत नेकपा माओवादीको तर्फबाट संविधानसभामा प्रतिनिधित्व गरेका सभासदहरुले पार्टीलाई मासिक १२ हजार रुपैयाँ लेबी बुझाउनु पर्ने भएको छ ।

पार्टी संसदीय दलको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । केही दिनअघि सम्पन्न केन्द्रीय समिति बैठकले सभासदहरुबाट मासिक १२ रुपैयाँ लेबी उठाउने निर्णय गरेको थियो ।

पार्टी सञ्चालनको लागि आर्थिक स्रोत जुटाउन अघिल्लो संविधानसभामा एमाओवादीले सभासदहरुबाट जनही मासिक १० हजार उठाएको थियो । यस पटक सभासदको संख्या कम भएकाले थप २ हजार लेवी उठाउन लागिएको एमाओवादीले जनाएको छ ।

यस पटकको संविधानसभामा एमाओवादीका तर्फबाट ८० जना सभासद रहेका छन् ।

सभासदको मासिक तलब तथा सुविधासम्बन्धी व्यवस्थाअनुसार प्रत्येक सभासद्हरूले तलब, धारा, बिजुली, टेलिफोन, आवास, मसलन्द, पत्रिका, निजी सचिवालय खर्चबापत मासिक ७३ हजार ३ सय ८८ रुपियाँ पाउँछन् ।

साथै सभासद्हरूको अन्य सुविधाको व्यवस्थाअनुसार फर्निचर, बैठक भत्ता निर्वाचन क्षेत्रको भ्रमण गर्दाको यातायात खर्च तथा जिल्ला भ्रमणबापतको भत्ता छुट्टै दिनुपर्ने छ।

संविधानसभामा सभामुखले मासिक तलबदेखि निजी सचिवालयसम्मको विभिन्न शीर्षकमा वार्षिक २३ लाख ४१ हजार ९ सय २० रुपैयाँ पाउँछन् । जसमा पानी, बिजुली, बिलअनुसार भुक्तानी दिइन्छ भने, पेट्रोल मासिक २ सय ५० लिटर र मोबिल त्रैमासिक १० लिटर पनि पाउनेछन्। संविधानसभामा उपसभामुखले पनि तलबभत्तासहित विभिन्न शीर्षकमा वार्षिक १९ लाख ८१ हजार ९ सय २० रुपैयाँ पाउँछन् ।

योबाहेक पनि उपसभामुखलाई इन्धन मासिक रूपमा २ सय लिटर उपलब्ध हुनेछ। संविधानसभामा विपक्षी दलको नेताका लागि वार्षिक १८ लाख ४५ हजार ६ सय ९६ रुपियाँ तथा मुख्य सचेतकका लागि १६ लाख ३४ हजार ८ सय ५६ रुपैयाँ छुट्याइन्छ ।

साथै विपक्षी दलका प्रमुख सचेतक, सत्ता पक्षको सचेतक र विभिन्न समितिका सदस्यहरू प्रत्येकलाई वार्षिक १४ लाख १७ हजार १ सय ७६ रुपियाँ प्राप्त हुन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us