एमालेसँग कुरा नमिलेपछि काँग्रेसले गुहार्‍यो माओवादी

काठमाण्डु टुडे २०७० माघ २६ गते ४:३० मा प्रकाशित

prachanda-sushil
काठमाण्डु, २६ माघ– राष्ट्रपति निर्वाचन हुनुपर्ने अडानबाट एमाले पछि नहटेपछि सरकार नेतृत्वमा दाबी गर्दै नेपाली काँग्रेसले एकीकृत माओवादीलाई गुहारेको छ ।
आज बिहानै एमाओवादी अध्यक्ष प्रचण्डको लाजिम्पाटस्थित निवास पुगेर काँग्रेस नेताहरुले सरकार गठनमा सघाउन आग्रह गरेका छन् । जवाफमा माओवादीले पार्टीमा आन्तरिक छलफलपछि निर्णय दिने बताएको छ ।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै काँग्रेस उपसभापति रामचन्द्र पौडेलले आफूहरुले सरकार गठनमा सघाउन गरेको आग्रहलाई माओवादी नेतृत्वले सकारात्मक रुपमा लिएको बताए । ‘सरकार गठनबारे सहयोग माग्न आएका हौं ।

हामीले मिलेर सरकार बनाऔं भन्यौ’, पौडेलले भने, ‘त्यसमा माओवादी सकारात्मक छ ।’ काँग्रेसले एमालेसँग सहमतिको सम्भावना कम हुँदै गएपछि सरकार गठनका लागि माओवादीको सहयोग खोजेको हो ।

एमाले राष्ट्रपति अडानमा कायमै रहेका बेला एमाले र एकीृकत माओवादीबीच गठबन्धन हुनसक्ने भय पनि काँग्रेसमा छ । सहमति प्रयासमा काँग्रेस–एमाले शीर्ष नेतृत्वबीच गएराति अबेरसम्म भएको छलफल दुवै पक्ष आ–आफ्नो अडानमा रहेका कारण बिनानिष्कर्ष सकिएको थियो ।

दुवै दलको कार्यदलले राष्ट्रपतिलाई वर्तमान संविधानसभाले अनुमोदन गर्ने मध्यमार्गी प्रस्ताव अघि सारे पनि शीर्ष तहमा सहमति हुन नसकेको हो । स्रोतका अनुसार काँग्रेस सभापति सुशील कोइरालाले एमाले संसदीय दलमा नेता केपी शर्मा ओलीलाई राष्ट्रपति निर्वाचनको अडान छाडेर आफ्नो प्रस्तावक बन्न आग्रह गरेका थिए ।

तर कोरालाको प्रस्ताव ओलीले अस्वीकार गरेको बुझिएको छ । यद्यपि सहमति प्रयासमा एमालेसँग आज पनि औपचारिक र अनौपचारिक छलफल हुने काँग्रेस नेताहरुले बताएका छन् ।

यसैबीच सरकार गठनबारे भइरहेका सहमति प्रयासबारे सभासदहरुलाई जानकारी गराउन काँग्रेसले आजै संसदीय दलको बैठकसमेत बोलाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us