इनार र कल सुक्न थालेपछि…

काठमाण्डु टुडे २०७० माघ २२ गते १३:५० मा प्रकाशित

सिराहा – केही वर्षअघिसम्म पानीको खासै समस्या नरहेको सिराहाको लालपुर गाविसमा अहिले पानीको अभावले सताउन थालेको छ । लालपुर मात्रै होइन, यहाँका अधिकांश ठाउँ अहिले पानीको हाहाकार हुने अवस्थामा छ ।

दुई वर्षअघिसम्म इनार र कलबाटै सहजै पानी आउने यो जिल्लामा पहिल्लो समय इनारहरू सुक्न थालेका छन् । कलबाट पनि पानी आउन छाडेको छ । स्थानीय रामस्वरुप महतो पछिल्लो पाँच वर्षमा जिल्लामा व्यापकरुपमा वन फडानी हुनु र चुरे क्षेत्रबाट ठूलो मात्रामा गिट्टी, बालुवा र ढुंगा निकाल्दा अहिले जिल्ला सुख्खामय भएको बताउँछन् ।

चैत, वैशाखमा सबै इनार सुक्ने भएकाले स्थानीय वासिन्दामा चिन्ता बढेको स्थानीय इन्द्रकला यादवको कथन छ ।  करिब दुई सय घरधुरी रहेको लालपुर–५ गुरुधामका वासिन्दा एउटा इनारमा निर्भर छन् । केही वर्षअघिसम्म गाउँका धेरै इनारमा पानी आउने गरेकामा अहिले एउटा इनारमा मात्रै पानी आउने भएकाले बिहानैदेखि गाउँलेहरूको भिड लाग्ने गरको छ । यो इनार पनि सुके के खाने भन्ने चिन्ता रहेको हरि यादव बताउँछन् ।

त्यस्तै वडा नं ६ माइजन टोलमा ११९ घरधुरी रहेकामा एउटै कलमा मात्रै पानी आउँछ । गाउँलेहरू यही कलको पानीमा निर्भर छन् । कलमा बिहान ४ बजेदेखि नै पानीको लाइन लाग्ने गरेको छ । बिहान ४ बजेदेखि ९ बजेसम्म र साँझ ४ बजेदेखि ६ बजेसम्म मात्रै कलमा पानी बाँड्ने व्यवस्था मिलाइएको देवकुमारी सिंह बताउँछन् । लगातार पानी तानेमा पानी सुक्ने भएकाले समय मिलाएर बिहान र साँझ मात्रै पानी तान्ने गरिएको उनको भनाइ छ ।

पानीको अभावकै कारण लालपुरका अधिकांश घरमा शौचालयको व्यवस्था गरिएको छैन । ८ सय ५३ घरमध्ये १ सय ५४ घरमा मात्रै शौचालय रहेको र ६ सय ९९ घरमा हालसम्म पनि शौचालय नरहेको सामाजिक अभियन्ता औतारी लामा बताउँछन् ।

केही अघिसम्म केही फुट इनार खने वा कल गाडे सजिलै पानी आउने गरेकामा अहिले १ सय २० फुट खन्दा पनि राम्ररी पानी आउँदैन ।

जिल्लामा खानेपानी र सरसफाइको काममा सक्रिय ‘स्वास्थ्यका लागि खानेपानी’ नामक गैरसरकारी संस्थाका प्रतिनिधि विष्णु पौडेल पछिल्लो समय सिराहामा खानेपानीको अभाव अत्याधिक देखिएकाले समग्र योजना बनाएर काम गर्न सके मात्रै समस्या समाधान हुने बताउँछन् ।

लालपुुर गाविसका वडा नं २, ३ र ४ बाहेक अन्य वडामा पानीको अभाव अत्याधिक रहेको छ ।

संविधानसभा निर्वाचनको समयमा पनि स्थानीयवासीले एनेकपा(माओवादी) अध्यक्ष पुष्पकमल दाहालसँग पानीको समस्या समाधान गरिदिन आग्रह गरेका थिए ।

पानीको अभावसँगै अहिले वन विनास गर्न नहुने सचेतना गाउँलेमा जागृत भएको छ । त्यस्तै चुरे क्षेत्रमा ठूलो मात्रामा गिटी, ढुङ्गा, बालुवा निकासी गरी भारतमा लगेर बेच्ने कार्यमा सरकारले कडाइ गरोस् भन्ने उनीहरूको माग छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us