श्रीमानको हत्या गरी अर्कैसँग विहे !

काठमाण्डु टुडे २०७० माघ २२ गते १०:१७ मा प्रकाशित

सुर्खेत, २२ माघ–    कतारबाट घर फर्किंदै गर्दा हत्या गरिएका जुम्लाका राजन बुढाको हत्यामा उनकै श्रीमती संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
मृतक बुढा २०६८ पुसमा कतार गएपछि श्रीमती गीता पुलामी (बुढा) ले नेपालमा अर्कैसँग विवाह गर्ने निधोमा पुगिसकेकाले श्रीमानको हत्या गर्ने योजना बनाएको प्रहरीले जनाएको छ ।

अर्कैसँग विवाह गर्ने निधो गरिसकेकी गीताले नयाँ श्रीमान्लाई पुरानो श्रीमान्ले मार्न सक्ने भन्दै पहिले नै मार्ने योजना बनाएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक प्रकाश अधिकारीले बताए ।

श्रीमान्को हत्या गरेपछि गीता पूर्व योजनाअनुसार अर्काे विहे गरेर भागेको प्रहरी उपरीक्षक अधिकारीको भनाइ छ । गीताले विहे गरेर गएका व्यक्तिको नाम भने अनुसन्धानमा अवरोध हुनसक्ने भन्दै प्रहरीले सार्वजनिक गरेको छैन ।

ती व्यक्तिको पनि घटनामा संलग्नता रहेकाले अहिले दुवै जना फरार रहेको प्रहरी उपरीक्षक अधिकारीले बताए । श्रीमान् बुढालाई हत्याको योजना र श्रीमतीको यहाँको कुनै पनि क्रियाकलापबारे जानकारी नभएको र फोनमा कुराकानी गरी भेटेर जङ्गलमा लगि हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले जानकारी दिए ।कतारबाट फर्किदै गरेका गीताका श्रीमान्, हत्याका अभियुक्त गीता र गीताको नयाँ श्रीमान् तीनै जना माओवादीका पूर्व लडाकु हुन् ।

मुख्य अभियुक्त गीता पक्राउ नपरेपनि घटनामा संलग्न अन्य चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । गढी–१ का ३३ वर्षका इन्द्रबहादुर रामजाली, वीरेन्द्रनगर–५ का ७० वर्षका देवीलाल न्यौपाने, जर्वुटा–२ का १७ वर्षीय अमृत भनिने पूर्णबहादुर सुनार र लेखगाउँ–४ की ३३ वर्षीया पविसरा पुलामी मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

घटनाको मुख्य योजनाकार गीताले श्रीमान्को हत्या गर्न अनेक उपाय अपनाएको समेत प्रहरीले जनाएको छ । त्यसै क्रममा ७० वर्षीय न्यौपानेको घटनामा मुख्य भूमिका रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । न्यौपानेले बुढालाई जादु टुनामुना गरी बाटोमै मार्ने जिम्मा लिने र त्यसको लागि आफूलाई रु एक लाख दिनुपर्ने भनी तीस हजार रकम बैनासमेत लिइसकेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

‘न्यौपानेकोे घटनामा ठूलो हात रहेछ’ उनले भने, ‘बुढालाई मार्ने भनी एक लाखको सम्झौता गरेको पहिले नै तीन हजार लगिसकेको भेटियो, तीस हजार हामीले बरामद पनि गरिसक्यौ ।’
अभियुक्त न्यौपाने वीरेन्द्रनगर–५ को कालिका मन्दिरका पुजारी हुन् । यस्तै, पक्राउ परेका रामजाली र सुनारको पनि हत्यामा प्रत्यक्ष संलग्नता रहेको र अर्की पविसराले घटनाका योजना थाहा पाए पनि खबर नगरेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । पविसरा मृतककी दिदी सासु हुन् । उनका श्रीमान् पनि मृतक बुढाले काम गरेकै कम्पनीमा काम गर्ने र केही समयमा फर्किन लागेकाले बहिनीले बनाएको सबै योजना उनलाई थाहा भएको प्रहरीको दाबी छ ।

बुढाको यही माघ ६ गते हत्या गरिएको भएपनि १५ गते मात्रै शव फेला परेको थियो । घाँस काट्न गएका महिलाले जर्वुटा–१ मा पर्ने शिव सामुदायिक वनमा उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको साथमा एउटा झोला भेटिएको र त्यसमा कतार अन्तर्राष्ट्रिय विमानस्थलको गेट पास र दुई वर्ष अगाडि मेडिकल जाँच गरेको रसिद मात्रै भेटिएको थियो ।

अनुसन्धानबाट बुढा यही माघको ४ गते नै कतारबाट काठमाडौँ आइसकेको र त्यहाँबाट ६ गते सुर्खेत आइपुगेपछि बाटा मै भेटेर हत्या गरिएको प्रहरी उपरीक्षक अधिकारीले बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us