प्रचण्डको एकता प्रस्तावमा वैद्यको यस्तो जवाफ

काठमाण्डु टुडे २०७० माघ २० गते ९:३३ मा प्रकाशित

prachanda-baidhyaकाठमाण्डु, २० माघ – नेकपा–माओवादीले हेटौंडा महाधिवेशनले तय गरेका कार्यदिशा सच्याए एकीकृत माओवादीसँग एकता हुनसक्ने निष्कर्ष निकालेको छ ।

एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत बुधबार नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यसमेत उपस्थित कार्यक्रममा पार्टी एकताका लागि आह्वान गरेपछि नेकपा–माओवादीले यस्तो निष्कर्ष निकालेको हो ।

पोलिटब्यूरो बैठकका निर्णय बारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मलेनमा अध्यक्ष वैद्यले भने, ‘उहाँहरु हेटौंडा महाधिवेशनले तय गरेका एजेण्डाहरु सच्याउन तयार हुनुहुन्छ भने हामीले पार्टी एकताको प्रस्ताव ल्याउँछौं ।’

साथै वैद्यले संविधानसभाबाट संविधान नबन्ने भन्दै संघर्षमा आउन एमाओवादीलाई आग्रह समेत गरेका छन् । ‘संविधानसभा काँग्रेस, एमाले र राप्रपाको दुई तिहाई पुगिसकेको छ,’ वैद्यले भने, ‘जनयुद्धका शक्तिलाई पाखा लगाएर बनेको संविधान हामीलाई मान्य हुँदैन ।’

एमाओवादी संघर्षमा आउन तयार भए कार्यगत एकता गरेर अघि बढ्न सकिने उनको भनाई छ । साथै वैद्यले जनताको संविधान सडक आन्दोलनबाटै बन्ने दावी गरेका छन् ।

यसअघि ललितपुरको ठैवमा गत बुधबार आयोजित दिलबहादुर श्रेष्ठको स्मृतिसभामा एमाओवादी अध्यक्ष प्रचण्डले पार्टी एकता गरेर अघि बढ्न तयार रहेको बताएका थिए ।

एमाओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठसँगै नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यसमेत उपस्थित कार्यक्रममा प्रचण्डले यस्तो अभिव्यक्ति दिएपछि माओवादी पोलिटब्यूरो बैठकमा पार्टी एकताको सम्भाव्यता बारे छलफल भएको थियो ।

चार दिनसम्म चलेको बैठकले आगामी फागुन १४ देखि २१ गतेसम्म सहिद सप्ताह र चैत २४ गते जनआन्दोलन दिवश मनाउने निर्णय गरेको छ ।

साथै जनआन्दोलन सञ्चालनका लागि पार्टी र जनवर्गीय मोर्चा सम्मिलित समिति बनाउने निर्णय समेत भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us