सहमतिका लागि राष्ट्रपतिले दिएको समय आज सकिंदै

काठमाण्डु टुडे २०७० माघ १९ गते २:०९ मा प्रकाशित

काठमाण्डु, १९ माघ– राष्ट्रपति रामवरण यादवले सहमतीय सरकार गठनका लागि दलहरुलाई दिएको समयसीमा आज सकिंदैछ ।
shital niwasराष्ट्रपतिले नेपालको अन्तरिम संविधान–२०६३ को ३८ (१) अनुसार सहमतीय सरकार गठनका लागि एक साताअघि आजसम्मको समय दिएका  थिए ।

तर दलहरुबीच सहमति नभएपछि सहमतीय सरकार गठनको सम्भावना टर्ने देखिएको छ । दलहरुले आग्रह गरेको अवस्थामा वा स्वविवेकले राष्ट्रपतिले दोस्रोपटक पनि सहमतिय सरकारका लागि आह्वान गर्न सक्छन् ।

तर सहमतीय सरकार गठनका लागि म्याद थप गर्न राष्ट्रपतिलाई आग्रह गर्ने मनस्थितिमा दलहरु देखिएका छैनन् । सरकारको नेतृत्वमा दाबी गरिरहेको नेपाली काँग्रेसको अग्रसरतामा हिजो बसेको सवंदलीय बैठक बिनानिष्कर्ष सकिएको थियो ।

बैठकमा एकीकृत माओवादी, राप्रपा नेपाल र फोरम नेपालले आफ्नो दल सरकारमा नजाने दोहोर्‍याएपछि सहमतीय सरकार गठनको बाटो बन्द भएको हो ।

दलहरुबीच सहमतिका लागि भएका प्रयास सन्तोसजनक नभएपछि राष्ट्रपतिले आजै बहुमतीय सरकार गठनका लागि आग्रह गर्ने सम्भावना रहेको शीतलनिवास स्रोतले जनाएको छ ।

अन्तरिम संविधानको धारा ३८ (२) ले सहमतीय सरकार गठन नभएको अवस्थामा बहुमतीय सरकार गठन गर्नुपर्ने व्यवस्था गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us