बैशाखमा एमाओवादीको सांगठनिक अधिवेशन

काठमाण्डु टुडे २०७० माघ १५ गते ६:५५ मा प्रकाशित

maoist-flagकाठमाण्डु, १५ माघ – एकीकृत माओवादीले आगामी बैशाखमा सांगठनिक अधिवेशन गर्ने तयारी गरेको छ ।

हेटौंडामा सम्पन्न सातौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाई भंग गरी सांगठनीक अधिवेशन आयोजक समितिमा रुपान्तरण गर्ने विषयमा छलफल सुरु भएको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा बुधबार बिहान बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मौखिक रुपमा यस्तो प्रस्ताव राखेका हुन् ।

‘अध्यक्षले केन्द्रीय कार्यालय र पूर्वपोलिटब्यूरो बैठकमा भएको छलफलबारे जानकारी गराउनुभयो,’ नेता हितबहादुर तामाङले भने, ‘अब यसबारे ब्यूरो र राज्य समिति स्तरमा छलफल हुन्छ ।’

राज्य समिति र ब्यूरोस्तरमा छलफल पछि आगामी शुक्रबार बस्ने केन्द्रीय समिति बैठकमा निष्कर्ष प्रस्तुत गर्ने तामाङले बताए ।

यसअघि मंगबार साँग बसेको शीर्ष नेताहरुको बैठकले हालको केन्द्रीय समिति भंग गरेर बढीमा ३५ सदस्यीय अधिवेशन आयोजक समिति बनाउने निर्णय गरेको थियो ।
पार्टीको संगठन भद्दा भएकाले यसलाई सांगठनिक महाधिवेशनमार्फत छरितो बनाउने एमाओवादीको तयारी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us