बालबालिकालाई पोलियो थोपा खुवाईंदै

काठमाण्डु टुडे २०७० माघ ११ गते ३:१६ मा प्रकाशित

polio_thopaकाठमाण्डु, ११ माघ – देशभर पाँच वर्ष मुनिका बालबालिकालाई पोलियो थोपा खुवाईंदैछ । १५ औं राष्ट्रिय अभियानको दोस्रो चरणअन्तर्गत शनिबार र आइतबार ६८ जिल्लाका बालबालिकालाई पोलियो थोपा खुवाउन लागिएको हो ।

सात हिमाली जिल्लामा भने आगामी चैत ८ र वैशाख १३ गते पोलियो थोपा खुवाइने छ । देशभर पाँच वर्षमुनिका बालबालिकाको संख्या ४२ लाख २६ हजार ९ सय ९६ रहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको बालस्वास्थ्य महाशाखाका अनुसार पोलियो थोपा खुवाउने अनियानका लागि देशभर ४ सय ४७ खोप केन्द्रमा ८० हजार ९ सय स्वास्थ्य स्वास्थ्य स्वयम्सेविका र १२ हजार भन्दा बढी स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

हरेक गाविस र नगरपालिकाका प्रत्येक वडामा तोकिएका खोप केन्द्रमा आफ्ना बालबालिकालाई पोलियो थोपा खुवाउन सरकारले सबैलाई आग्रह गरेको छ । पहिलो दिन आज पोलियो थोपा खुवाउन छुटेका बालबालिकालाई भोलि अनिवार्य रुपमा पोलियो थोपा खुवाउनुपर्ने व्यवस्था मिलाइएको बालस्वास्थ्य महाशाखाका प्रमुख डा. सेनेन्द्रराज उप्रेतीले जानकारी दिए ।

विश्वबाटै पोलियो रोग उन्मुलन गर्ने लक्ष्यअनुरुप १५ वर्षदेखि पालियो थोपा खुवाईंदै आइएको छ । यसअघि पहिलो चरणको कार्यक्रमअन्तर्गत गत पुस ६ र ७ गते देशभर पोलियो खोप अभियान सञ्चालन भएको थियो ।

नेपाल पोलियो शून्य प्रमाणीकरण हुने अवस्थामा रहेको छ । लगातार तीन वर्षभन्दा बढी पोलियो रोगी देखा नपरेकाले विश्व स्वास्थ्य संगठनले नेपालसहित दक्षिण पूर्वी एसियाली मुलुकलाई यसै वर्षको फेब्रुअरीमा पोलियो शून्य घोषणा गर्ने तयारी गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us