आरक्ष विस्थापित परिवार आन्दोलनमा

काठमाण्डु टुडे २०७० माघ ११ गते ३:०९ मा प्रकाशित

कञ्चनपुर, ११ माघ – कञ्चनपुरका आरक्ष विस्थापित परिवारहरुले ‘गर या मर’ आन्दोलन गर्ने घोषणा गरेका छन् । शुक्लाफाँटा वन्यजन्तु आरक्षको विस्तारित क्षेत्रबाट विस्थापनमा परेको १२ वर्षसम्म पुनःस्थापनका लागि कुनै कार्यक्रम नल्याइएको भन्दै आरक्ष विस्थापित परिवारहरुले आन्दोलनको घोषणा गरेका हुन् ।

आन्दोलनमा सडक सङघर्ष, धर्ना, घेराउ, चक्काजाम लगायतका कार्यक्रम तय गरिएको आरक्ष सङ्घर्ष समितिका अध्यक्ष हीरासिंह भण्डारीले बताए ।

आरक्षको समस्या समाधानका लागि २४ भन्दा बढी आयोग बने पनि तथ्याङ्क सङ्कलनबाहेकका कार्य अगाडि बढ्न नसकेको उल्लेख गर्दै उहाँले तत्काल अधिकार सम्पन्न आयोगको गठन भए मात्रै समस्या समाधान हुने बताए ।

आरक्षको विस्थापनमा परेका परिवार आरक्षकै जग्गा कब्जा गरी तारापुर, बेलडाँडी  र ढक्का क्षेत्रमा कष्टमय जीवन बिताउँदै आएका छन् । आरक्ष विस्थापित परिवारलाई राज्यबाट पाउने आधारभूत अधिकारबाटसमेत वञ्चित गरिएको पीडित भगीरथ भट्टले बताए ।

कञ्चनपुरका विभिन्न शिविरमा अस्थायीरुपमा बस्दै आएका दुई हजार ४७३ आरक्ष विस्थापित परिवार रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us