
काबुल १० पुस– अफगानिस्तानको राजधानी काबुलमा बुधबार विहान विदेशी नागरिकहरु क्रिसमसको रमझममा रहेको मौकापारी दुईवटा रकेट आक्रमण भएको छ ।
यस आक्रमणबाट मानवीय हताहती र सम्पत्तिमा क्षतिको भने कुनै समाचार प्राप्त नभएको सुरक्षा स्रोतले जनाएको छ । स्रोतले काबुलमा भएको दुईवटा रकेट आक्रमणको पुष्टि गरेको छ ।
यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन । तर सन् २००१ मा तालिवानहरु शासनबाट हटेपछि र तालिवान लडाकूसँग अमेरिकी नेतृत्वको नेटोसँग आवद्ध सैनिकले अफगान वार सुरु गरेपछि विदेशीहरुलाई लक्ष्यगरी यस्ता आक्रमण प्रायः तालिवान विद्रोही समूहले नै गर्ने गरेका छन् ।
यसकारण यस आक्रमणमा पनि तालिवानको हात रहेको सुरक्षा स्रोतले अनुमान गरेका छन् । यस महिनाको सुरुमा पनि तालिवान आत्मघाती आक्रमणकारीले काबुल विमानस्थलको प्रवेशद्धारमा नेटो सैनिकलाई लक्ष्यगरी गरिएको एक आक्रमणमा आक्रमणकारीकै मत्यु भएको थियो ।
गत अक्टोबरमा पनि विदेशी कामदारहरुकै निवासलाई लक्ष्यगरी गरिएको एक आक्रमणमा कम्तीमा दुई सर्वसाधारणको मृत्यु भएको थियो । रासस/एएफपी