४९ मत कम भएर सभासद बन्न पाइएन !

काठमाण्डु टुडे २०७० पुष ५ गते १३:१० मा प्रकाशित

काठमाण्डु, पुस – संविधानसभा चुनाव सकिएको एक महिना बितिसके पनि यसको चर्चा अझै सेलाएको छैन । जितिकाहरुले विजय जुलुस सहित भोज–भतेर गरेर खुसी मनाउने क्रम जारी नै रहेको अवस्थामा हारेकाहरुलाई पनि चुनावी ह्याङले अझै छाडेको छैन ।

कोही हारको समीक्षा गर्न व्यस्त छन् भने कोही मुद्दा मामिलामा लागेका छन् । संविधानसभा अदालतमा प्रत्यक्षतर्फका उम्मेदवारपछि समानुपातिकतर्फका उम्मेदवारले पनि उजुरी दिन थालेका छन् ।

गत मंसिर ४ गते भएको अर्काे संविधानसभा सदस्य निर्वाचनमा भएको मतगणना चित्त नबुझेकाले पुनः मतगणना गराई पाऊँ भनी काठमाडौँ निवासी सङ्घीय गणतान्त्रिक समाजवादी पार्टीका समानुतापतिक उम्मेदवार शर्मिली लामाले उजुरी दिएकी हुन् ।

निर्वाचन आयोगको वेबसाइटमा गत मंसिर १३ गते प्रकाशित मतगणनाको परिणामबमोजिम आफ्नो दलको १८ हजार ६८० मत रहेकामा पछि आयोगकै मत परिणामको सूचना केही दैनिक राष्ट्रिय पत्रिकामा प्रकाशन हुँदा १८ हजार ६ सय ३१ मत देखाइएको उजुरीमा जनाइएको छ, उनन्चास मत कम हुँदा आफ्नो दलले पाउने एक सभासद्को पद पनि गुमेकाले पुनः मतगणना गराउन उनले माग गरेकी हुन् ।

उजुरीमा उनले आयोग, गृह र रक्षा मन्त्रालयसहित सिरहा, दोलखा, सिन्धुली, इलाम र पर्सा जिल्ला निर्वाचन कार्यालयसमेतलाई विपक्षी बनाएकी छिन् ।
यसैबीच सो निर्वाचनमा एक समानुपातिकसहित प्रत्यक्षतर्फका विजयी उम्मेदवारविरुद्ध १८ निकटतम प्रतिस्पर्धीले संविधानसभा अदालतमा उजुरी दिइसकेका छन् । अदालतका उपरजिस्ट्रार विश्वराज पौडेलका अनुसार अन्तर्कालीन आदेश जारी गर्न माग गर्दै दर्ता भएका १९ उजुरीमध्ये १६ उजुरीमा दुवै पक्षलाई  छलफलमा उपस्थित हुन आदेश जारी भइसकेको छ ।
अदालतका अध्यक्ष कल्याण श्रेष्ठ र सदस्य गिरीशचन्द्र लाल हाल देश बाहिर रहेकाले बस्न नसकेको इजलास आउँदो हप्ताभित्र बस्ने जनाइएको छ । आदेश भएका १६ उजुरीमध्ये सोलुखुम्बुका विजयी उम्मेदवार नेपाली काँग्रेसका बलबहादुर केसी भने अदालत उपस्थित भइसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us