अमेरिकी सेना फिर्ता गरी भारतीय सैन्य सामग्री लिने अफगानिस्तानको चाहना

काठमाण्डु टुडे २०७० मंसिर २८ गते १५:३९ मा प्रकाशित

नयाँ दिल्ली, २८ मंसिर–अफगानिस्तानले आफनो मुलुकबाट अमेरिकी सेना फिर्ता पठाएर भारतीय सैन्य सामग्री आपुर्ति गर्ने चाहना व्यक्त गरेको छ । अफगान राष्ट्रपति हमिद करजईले आउँदो वर्षदेखि अफगानिस्तानमा अमेरिकी सेनालाई कायम रहन दिन आफ्नो मुलुकले दबाबपूर्ण सम्झौतामा हस्ताक्षर नगर्ने बताउँदै भारतलाई थप सैनिक सामग्री उपलब्ध गराउन आग्रह गरेका छन ।
    राष्ट्रपति करजईले भारतको तीनदिने भ्रमणको आरम्भमा प्रधानमन्त्री मनमोहन सिंह तथा विदेशमन्त्री सलमान खुर्शिदसँग भेट गरेका छन । भारतमा शिक्षा हासिल गरेका अफगान राष्ट्रपति करजईको भारतसँग राम्रो सम्बन्ध रहेको छ । भारत अफगानिस्तानबाट सन् २०१४ मा अमेरिकाको नेतृत्वमा रहेको नेटोको ७५ हजार सैनिक फिर्ता गएपछि कट्टरपन्थी तालिवान लडाकू सत्तामा फिर्ता नजाओस् भन्ने चाहन्छ ।
    भारतीय टेलिभिजन एनडीटीभीमा बोल्दै राष्ट्रपति करजईले सन् २०१४ पछि १२ हजार अमेरिकी सैनिक अफगानिस्तानमा कायम रहन र यसका लागि उनीहरूको शर्त कायम गर्ने कुरामा आफू बाध्य नहुने बताए ।
आउँदो वर्ष पदबाट हट्ने राष्ट्रपति करजईले आरम्भमा दुई पक्षीय सुरक्षा सम्झौतालाई समर्थन गरेका थिए । पछि यो सम्झौतामा अप्रिल महिनामा राष्ट्रपति पदको निर्वाचन भएपछि मात्र हस्ताक्षर गर्न सकिने उनले बताएका थिए ।
    अमेरिकी अधिकारी तथा सांसदहरूले यस वर्षको अन्त्यसम्म सम्झौतामा हस्ताक्षर नभए नेटोको सैनिक पूर्ण रूपमा फिर्ता जाने बताएका छन् । भारतले अफगानिस्तानको पुनर्निमाणका लागि दुई अर्ब अमेरिकी डलर खर्च गरेको छ । एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us